
आसन्न बर्दिबास उद्योग वाणिज्य संघमा अध्यक्ष पदको दाबेदारी गर्दै उम्मेदवारी दिएका व्यवसायी बिष्णु बहादुर खड्काले निवर्तमान कार्यसमितिले उद्योग वाणिज्य संघलाइ बन्धक बनाएको आरोप लगाउनु भयो।
बर्दिबास उद्योग वाणिज्य संघमा प्यानल सहित उम्मेदवारी दिएका खड्का समुहले सोमबार घोषणापत्र सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
९ वर्ष अघि निर्वाचित कार्यसमितिले व्यवसायीक हकहितको क्षेत्रमा उल्लेखनिय काम गर्न नसकेको बताउदै बरु उल्टै नियमित हरेक वर्षमा गरिनु पर्ने साधारणसभा समेत गर्न नसकेर संघलाई बन्धक बनाएको बताउनु भएको हो ।
व्यवसायी खड्काले आउँदो दिनमा आफ्नो प्यानल निर्वाचित भएमा समग्र बर्दिबासको विकास गर्न संघले पुलको रुपमा आफ्नो भुमिका निर्वाह गर्ने स्पष्ट पार्नु भयो । उहाँले औद्योगिक क्षेत्रको विकास, पर्यटनको विकास, बर्दिबास सम्म रेलवे सेवाको विस्तारमा स्थानिय सरकार सुस्त बनेको बताउदै परिवर्तन चाहने युवाहरूको साथमा आफु निर्वाचनमा होमिएको दाबी गर्नु भयो।
सोमबार सार्वजनिक गरिएको खड्का समुहको घोषणापत्रमा व्यवसायी सदस्यहरुलाइ आइ पर्ने दैवीप्रकोपबाट राहत दिलाउन अध्यक्षका उम्मेदवार खड्काले आफ्नो व्यक्तिगत सहयोगमा पाँच लाख एकाउन्न हजारको अक्षयकोष स्थापना गरिने तथा हरेक वर्ष सोही अनुपातमा रकम थप गर्दै कोषलाई वृहत बनाइने उल्लेख छ। उक्त कोषबाट संस्थाका सल्लाहकारहरुको सिफारिसमा दैवीप्रकोपको कारण क्षती भोग्न विवश व्यवसायीलाई तत्काल राहत प्रदान गरी सहयोग गरिनेछ।
त्यसैगरी संघको गतिविधिलाई पारदर्शी बनाइने, कर प्रणालीलाई व्यवसायीक सहजतामा पुर्याउन संघले समन्वय गर्ने, बर्दिबासका बजार क्षेत्रमा सिसीटिभी जडान गर्ने, घरधनीसङ्ग सुमधुर सम्बन्ध बनाउनेतर्फ संघले पहलकदमी लिने घोषणापत्रमा उल्लेख छ। त्यसैगरी बर्दिबास बजारलाई सुन्दर र व्यवस्थीत बनाउन ट्राफिक लाइटको व्यवस्था, जेब्रा क्रसिङ्ग, फोहरमैला व्यवस्थापन, घुम्ति शौचालय, भुमिगततार लगायतको व्यवस्थापनमा सरोकारवालाहरु सङ्ग समन्वय गर्न पहल गर्ने, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा विभिन्न व्यवसायीक तथा गैर व्यवसायीक संस्थाहरु समेत सङ्ग समन्वय गरी बर्दिबासमा उद्योग स्थापना तथा पर्यटन प्रवद्धन गर्न हर सम्भव प्रयास गरिने बताइएको छ।
महिला उद्यमी व्यवसायीलाइ सुलभ कर्जा प्रदान गर्ने व्यवस्था मिलाउन स्थानिय वित्तीय संस्थाहरुसङ्ग पहल गर्ने तथा समग्र बर्दिबासको विकासमा तीनै तहका सरकार, विभिन्न संघ संस्था राजनैतिक दलसङ्ग समेत समन्वय गरी संघको पहलमा नेतृत्व प्रदान गरिने घोषणापत्रमा उल्लेख छ।
९ वर्ष पछि हुन लागेको बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा ३ सहित २८ उम्मेदवार मैदानमा उत्रिएका छन् । अध्यक्षमा बिष्णु बहादुर खड्का र कृष्ण प्रसाद गौतमले प्यानल सहित उम्मेदवारी दिएका छन भने जागेन्द्र श्रेष्ठले एकल उम्मेदवारी दिएका छन ।
संघको निर्वाचन पौष ५ गते हुँदैछ ।