
एजेन्सी । क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा पेनाल्टी सुटआउटमा ब्राजिललाई ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो । पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे ।
ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे पनि रोड्रिगो र मार्क्विन्होस भने चुके । रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाए । मार्क्विन्होसको प्रहार भने पोस्टमा लागेपछि बाहिरियो । त्यसअघि खेलमा ब्राजिलले सुरुआती अग्रता लिएको थियो ।
ब्राजिलले ३० मिनेटको पहिलो हाफ सकिनै लाग्दा अग्रता लिएको थियो । ब्राजिललाई अग्रता दिलाउने क्रममा नेयमारले उत्कृष्ट गोल गरे । तर, ब्राजिलको अग्रता लामो समयसम्म टिक्न सकेन । क्रोएसियाका लागि ब्रुनो पेटकोभिकले थपिएको समयको दोस्रो हाफको अन्तिमतिर गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ब्राजिलविरुद्धको जितमा गोलकिपर डोमिनिक लिभाकोभिच ‘हिरो’ सावित भए ।
उनले पेनाल्टीका साथै थपिएको समयअघिको खेलमा पनि शानदार बचाउ गरे । ब्राजिलविरुद्धको खेलमा पटकपटकको प्रहार जोगाएका उनले अघिल्लो खेलमा जापानविरुद्ध पनि शानदार प्रदर्शन गरेका थिए । ब्राजिल र जापानविरुद्ध ‘हिरो’ सावित भएका डोमिनिक लिभाकोभिकको जन्म ९ जनवरी १९९५ मा भएको थियो ।
उनी क्रोएसियाको एनके जाग्रेब युवा एकेडेमीका उत्पादन हुन् । उनले सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए । २७ वर्षीय डोमिनिकले लगातार शानदार प्रदर्शन गरेपछि पछिल्लो समय टिमको प्रमुख रोजाइमा पर्दै आएका छन् । हालसम्म उनले क्रोएसियाका लागि ३९ खेल खेलिसकेका छन् ।
त्यस्तै, डोमिनिकले अहिलेसम्म डिनामो जाग्रेब क्लबका लागि २६२ म्याच खेलेका छन् । अब सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिनाको सामना गर्ने छ।