
एजेन्सी । कतारमा जारी फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो क्वाटरफाइनलको खेलमा अर्जेन्टिना विजयी भएको छ । आज भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विजयी भएको हो । यो जितसंगै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइलनमा पुगेको छ ।
नेदरल्यान्ड्सले इन्ज्युरी समयको दशौं मिनेटमा नाटकिय गोल गरेपछि खेल २–२ को बराबरीबाट अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा कुनै गोल हुन सकेन । त्यसपछि खेल पेनाल्टीमा गएको थियो ।
पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिँदै खेलमा पकड जमाएको थियो । दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेपछि नेदरल्यान्ड्सले आक्रामक परिवर्तन गरेको थियो । वेघर्स्टलाई मैदान पठाएको ५ मिनेटमा गोल फर्काएको डच टोलीले इन्ज्युरी समयको दशौं मिनेटमा फ्रिकिकमा चलाखीपूर्ण गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्किएको थियो ।
मोलिनाले ३५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनले कप्तान लिओनेल मेस्सीको पासबाट गोल गर्न सफल भएका थिए ।
खेलको ७३ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई २–० ले अघि बढाए । ८३ औं मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काउन सफल भयो । र खेलमा फर्कने संकेत दियो । त्यसपछि इन्ज्युरी समयमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो । फ्रिकिकमा बर्घिअसले दिएको चलाखीपूर्ण पासलाई वेघर्स्टले सोझै गोलमा परिणत गरे ।
त्यसपछि जित नजिक पुगेको अर्जेन्टिना लगातार दुई गोल खाएपछि अतिरिक्त समय खेल्न बाध्य भएको थियो ।
अतिरिक्त समयमा दुवै टिमले कुनै गोल गर्न सकेनन् । त्यसपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा जित निकाल्दै अर्जेन्टिना सेमिफाईनल प्रवेश गरेको हो ।
अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।