बर्दिबास उद्योग वाणिज्य संघमा करिब दश वर्ष पछि नेतृत्वको लागि निर्वाचन हुँदैछ। वि.स. २०७० सालको निर्वाचित प्रह्लाद कुमार क्षेत्री नेतृत्वको कार्यसमिति पछि बर्दिबास उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन हुन सकेको थिएन । हाल क्षेत्री बर्दिबास नगरपालिकाको मेयरमा निर्वाचित भए पश्चात संघ नयाँ नेतृत्वको लागि निर्वाचनमा जान लागेको हो ।
यस पटकको निर्वाचनमा हाल कार्यवाहक अध्यक्ष रहेका कृष्णप्रसाद गौतम र पुर्व कार्यसमिति सदस्य विश्णु खडका मुख्य आकान्क्षीको रुपमा देखा परेका छन भने निवर्तमान महासचिव भवनाथ खतिवडा र निवर्तमान कार्यसमिति सदस्य विनोद भण्डारीले समेत आफ्नो दाबेदारी राखेका छन । सबै आकान्क्षीहरु समुहगत रुपमा प्यानल सहित निर्वाचनमा जाने मनस्थितिको कारण मनोनयनको अन्तिम दिन मङ्सिर २५ गते अन्तिम उम्मेदवारको टुङ्गो लाग्ला ।
विगतमा जस्तै यस वर्ष पनि उम्मेदवारहरुको मुख्य एजेण्डा अव्यवस्थीत घरबहाल नै रहेको देखिए पनि त्यसको समाधानको विकल्प सहितको ठोस योजना भने कतै बाट आएको छैन ।
२०७० साल देखि हाल सम्म कायम रहेको कार्यसमितिले त्यसबेला व्यापारी माझ मत माग्न जादा व्यवस्थीत घरभाडाको एजेण्डा लिएर गएका थिए। तर त्यस तर्फ उल्लेखनिय काम भएको देखिएन । बरु घरभाडा झन उकालो लाग्दा लागत बढन गइ महङ्गाइ बढेर बर्दिबासको व्यापार तुलनात्मक रुपमा खस्किदो छ। नजिकै को औरही, गौशाला बजारको तुलनामा बर्दिबासको बजारमा वस्तुभाउ महङ्गो भएको छ। जस्ले गर्दा उपभोक्ताहरु नजिकका बजार तिर आकर्षित भएका छन ।
बर्दिबासमा भाडा बढनुमा बैंकको किस्ता र ब्याजदर कारण रहेको स्थानियको भनाइ छ। उता व्यापारीवर्गले केहि पैसा कै कारण समय नपुग्दै घरबेटीबाट घरखालि गर्न दबाब दिने जस्ता समस्या भोग्नु परेको बताउछन ।
यतिबेला व्यापार संघको चुनावबाट आउने नेतृत्वबाट व्यापारीवर्ग र घरबेटीका समस्याहरुको उचित सम्बोधनको अपेक्षा गरेका छन ।









