३० जेठ । कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका १० कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।
विभिन्न नक्कली फाइल खडा गरी डेढ करोड ऋण प्रवाह गरिएपछि धनगढी शाखामा कार्यरत १० जना कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
नक्कली फाइल प्रकरण बाहिरिएपछि सहकारीका उपाध्यक्ष चेतराज ओझाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिको प्रतिवेदन अनुसार सहकारीका धनगढी मुख्य शाखाका सहायक महाप्रबन्धक एवं तत्कालीन धनगढी मुख्य शाखा प्रमुख प्रेमराज जोशी र धनगढी शाखाका ऋण विभाग प्रमुख धनन्जय भट्टलाई स्पष्टीकरण सोधिएको थियो । जोशी र भट्टको कार्यसम्पादन नियमसंगत नदेखिएपछि उनीहरूलाई धनगढी मुख्य बैंकिङ कार्यालयमा तानिएको सहकारीका उपाध्यक्ष चेतराज ओझाले जानकारी दिए ।
मुख्य बैंकिङ कार्यालयमा तानिएका उनीहरूलाई दैनिक जिम्मेवारीबाट मुक्त गरिएर जगेडामा राखिएको छ । जोशी र भट्टले सहकारीका नक्कली फाइल प्रमाणीकरण तथा सदर गरेको भेटिएको छ ।
लोकान्तरले नवजीवन सहकारीको नक्कली फाइलबारे पर्दाफास गरेपछि सहकारीले सोमवार पुन: जोशी र भट्टलाई दोस्रो पटकसहित १० जना कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधेको सहकारीका महाप्रबन्धक डम्मरसिंह गुरुले बताए । पहिलो पटकको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि दोस्रो पटक स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।



















