दाजुभाइ नै दाम्लोमा


२ चैत्र । परिस्थिति ठीकठाक भइदिए यतिबेला ७७ वर्षीय कमलकुमार राई र सावित्रीले बिहानबेलुकी हातमुख जोर्न अहिलेजस्तो गाह्रो पक्कै हुँदैनथ्यो । जेठा छोराले घरको भरथेगमा सघाउन थालिसकेका हुन्थे । कान्छो छोराले पनि एसईई हाराहारी योग्यता बनाइसकेका हुन्थे ।

तर, दुवैलाई घरमा डोरीले बाँधेर राख्नुपरेको छ । २३ वर्षका रवि र १४ वर्षका सरोज आफ्नैबारेमा मेसो पाउँदैनन् । कसैलाई चिन्दैनन् । फुत्किए घर फर्कन जान्दैनन् ।

नेपालगन्ज–२० थपुवा मनिकापुरका वृद्ध दम्पतीलाई हुनुसम्मको सास्ती छ । जेठो छोरालाई १८ र कान्छोलाई १० वर्षदेखि बाँधेर राखेको दम्पतीले बताए । छोराको चिन्ताले आफैं रोगी भइसकेको कमलकुमारले बताए । ‘जन्मँदैदेखि सुर नपाउने थिए, हुर्कँदै जाँदा अझ होस हरायो । छोराहरूको लालनपालनसँगै आफैं रोगसँग लडिरहेको छु,’ उनले भने, ‘धेरै ठाउँमा पुगेर हारगुहार मागें तर कहींकतैबाट सहयोग पाइनँ ।’ डोरीले बाँधेर नराखे हराउने डर रहेको उनले बताए । ‘गाउँमा अर्काको घरमा पुगेर नोक्सान गरिदिन्छन्,’ उनले भने, ‘अब त हामी आफैं थाकिसक्यौं । छोराहरूको पीरले दुवै बिरामी भइसक्यौं ।’

दुवै छोराले मानसिक सन्तुलन गुमाएका छन् । उनीहरूले सुर पाउन छाडेको लक्षण देखिएयता डोरीमा बाँधेर राख्ने गरिएको हो । ‘छोराहरूलाई पशुझैं दाम्लोमा बाँध्नु पर्दा मन रुन्छ तर नबाँधेर पनि भएको छैन,’ सावित्रीले भनिन् । खुला छाडे रवि र सरोज गाउँमै हराउँछन् । खोज्नै समस्या हुने गर्छ । दाम्लोबाट फुत्केर उनीहरू थुप्रै पटक हराएका घटना छन् । छिमेकी गाउँमा भेटिएर उनीहरूलाई घर ल्याइन्छ । दाम्लोबाट फुत्किए दुवै स्थानीयका घरआँगनमा पस्छन् । भित्र भेटिने सामानहरू फुटाएर क्षति पुर्‍याउँछन् ।

‘काम गर्न बाहिर जाँदा हेरेर बस्न भ्याइँदैन, त्यसैले सबैभन्दा सजिलो बाँधेर राख्ने हो,’ कमलकुमारले भने, ‘बरन्डाको खाँबोमा बाँधेर राखेपछि ढुक्क भइन्छ । अरूको बिगार गर्न पाउँदैनन् । हराउने डर पनि भएन,’ कमलले दुई छोरालाई पशुझैं दाम्लोमा बाँधेर राख्नुको कारण सुनाए । राई दम्पतीका चार सन्तानमा दुर्ई छोरी छन् । उनीहरूको विवाह भई घरजम गरिसकेका छन् । तर, दुवै छोराको जन्मजात मानसिक सन्तुलन ठीक नभएका कारण दम्पतीलाई सधैंको पिरलो छ ।

 

अपांगताको क्षेत्रमा काम गर्दै आएका स्थानीय टेकराज जैसीले राई दम्पतीको पीडा साह्रै दर्दनाक रहेको बताए । ‘राई दम्पतीलाई धेरै समस्या छ । छोराहरूको उपचार गराउँदागराउँदै सम्पत्ति सके,’ उनले भने, ‘अहिले त कमल आफैं बिरामी भइसकेका छन् । दाम्लोमा रहने छोरालाई पनि हेर्न भ्याउँदैनन् ।’

राई दम्पतीले दुवै छोराको उपचार बलबुताले भ्याएसम्म गरिसकेका छन् । नेपालगन्जका सबै अस्पतालमा लगिसके । दुवै छोराको रोग निको भएन । कमजोर आर्थिक अवस्थाका कारण दुवैलाई मानसिक अस्पताल पुर्‍याउन नसकेको कमलले बताए ।

कान्तिपुर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको