महोत्तरी । सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्याउने उद्देश्यले अडियो सन्देश तयार गरी सामाजिक सञ्जालमार्फत फैलाएको आरोपमा महोत्तरीको गौशालाबाट एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गौशाला नगरपालिका-५ निवासी करिब २५ वर्षीय मोहम्मद अमिर राजा रहेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनलाई असोज ३० गते साँझ करिब ६ बजे गौशाला बजारमा घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार राजा र अन्य केही व्यक्तिले दसैँका अवसरमा गौशाला बजारमा दुर्गा मूर्ति विसर्जन गर्ने दिन झैझगडा तथा कुटपिट गराउने र हिन्दु तथा मुस्लिम समुदायबीच द्वन्द्व सिर्जना गर्ने उद्देश्यले अडियो तयार पारेको भन्ने विशेष सूचना प्राप्त भएको थियो।
उक्त अडियो ह्वाट्सएपमार्फत सम्प्रेषण गर्नुका साथै सामाजिक सञ्जालमा समेत फैलाएर धार्मिक सद्भाव भड्काउन खोजिएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले विशेष सूचनाका आधारमा अनुसन्धान तथा खोजतलास गर्ने क्रममा राजालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता रहे-नरहेको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।












