४ फागुन,महोत्तरी । भंगहा नगरपालिकाले नियम विपरीत खोलाको टेण्डर लगाएको खुलासा भएको छ ।

विधी, प्रक्रिया नपुर्याकन स्थानिय रातु खोला र भुतहा खोला ठेक्का लगाईएको खुलासा भएको हो । स्रोतका अनुसार नगर कार्यपालिकाको कार्यालयले विभिन्न मितिमा तीन पटकसम्म बोलपत्र आव्हान गरिएको थियो ।
सो समयसीमाभित्र कुनै पनि संघ संस्थाले टेण्डर आव्हान गरेको थिएन । गत पुस २५ गते पाँच दिने सूचना निकालि न्युनतम रु।१ करोड २५ लाखमा टेण्डरको आव्हान गरियो तर यो सुचना कुनै पत्रपत्रिका प्रकाशन भएन ।
त्यस्तै नगरपालिकाले पनि आफ्नो वेबसाईटमा यो सुचना हालेको थिएन् । ३ दिनपछि पुस २८ गते नगरपालिकाको वेबसाईटमा यस नगरपालिकाबाट रु। १ करोड ६० लाखमा ठेक्का लगाउने सुचना प्रकाशन भएको पाईएको छ ।

त्यसपछि माघ १७ गतेका दिन श्री GM Trade Link Pvt.Ltd= कम्पनीलाई टेण्डर स्वीकृत गरियो । जुन कार्य स्थानियको लागि शंकाको विषय बन्यो । अहिले यो विषयको चर्चा हरेक स्थानमा सुन्न पाईन्छ । गोप्य रुपमा सो टेण्डर नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सेटिङ मिलाएर १ करोड रुपैयाँमा ठेक्का लगाएर नगरपालिकाको लाखौं रुपैया भ्रष्टाचार गरेको स्थानियहरुले आरोप लगाएका छन् ।
विगतमा सो खोलाको एक खण्ड २ करोड ११ लाख र अर्को खण्ड ३३ लाख रकममा ठेक्का लगाइएको थियो ।




















