कारागारमा बन्दी जीवन बिताइरहेका एक जनाको मृत्यु


२४ भदौ, विराटनगर । जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका एक जनाको मृत्यु भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–१० घर भएका ६० वर्षीय भीमलाल सुब्बाको बिहीबार बिहान मृत्यु भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताए।

पोखरेलका अनुसार मृतक जबरजस्ती करणी मुद्दाका बन्दी हुन्। उनलाई जिल्ला अदालत मोरङले गत असार ७ गते पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

अदालतबाट मुद्दाको फैसला हुन बाँकी नै छ। मुद्दाको किनारा नलाग्दै बन्दीको मृत्यु भएको जानकारी पोखरेलले दिए। उनका अनुसार बुधबार राति १० बजेतिर एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि सुब्बालाई उपचारका लागि कोसी अस्पताल लगिएको थियो।

स्वास्थ्यमा समस्या थपिँदै गएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍याइयो। नोबेलमै उपचारका क्रममा बिहानका राति २ बजेतिर मृत्यु भएको निमित्त जेलर पोखरेलले बताए। मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको जानकारी उनले दिए।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेका कारण व्यवस्थापनमा समस्या भइरहेको उनको भनाइ छ। पोखरेलका अनुसार ३ सय क्षमताको कारागारमा बिहीबार दिउँसोसम्म नौ सय ५८ जना कैदीबन्दी छन्।
जिल्ला कारागार मोरङ

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको