१८ भदौ,झापा । झापाको भद्रपुर र भारतको बिहार तथा बंगाल राज्य जोड्ने मेची नदीमा निर्माण भएको पुल १६ महिनादेखि बन्द छ। ३७ करोड रुपैयाँमा निर्माण भएको भद्रपुर–गलगलिया सीमा नाका लामो समयदेखि बन्द भएको हो।
पहिलो चरणको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ देखि भारतसँग जोडिएका सबै सीमा नाका बन्द गरेको थियो। संक्रमणदर घट्दै गएपछि सरकारले देशभरका ३० वटा नाका खुला गरे पनि झापाकै ठूलो नाका भद्रपुर–गलगलिया नाका खुला गरेन।
झापाकै काँकडभिट्टा र गौरीगञ्जको खजुरगाछी नाका मात्र खुलाए पनि भद्रपुर नाका खुला नगरेपछि २०७७ फागुनको पहिला साता कांग्रेस कार्यकर्ताले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईलाई ज्ञापनपत्र बुझाएको थियो। त्यस बेला नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले नाका खुलाउने विषयमा सम्बन्धित निकायसँग पहल गर्ने आश्वासन दिएका थिए। तर, चैतसम्म पनि नाका खुलाउने विषयमा कहीँ कतैबाट पहल भएन। वैशाखमा फेरि दोस्रो चरणको महामारी सुरु भएपछि लकडाउन भयो।
दोस्रो चरणको महामारी फैलिए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विशेष कामले भारत जाने र नेपाल आउने व्यक्तिलाई काँकडभिट्टाबाट आउजाउ गर्न दिइयो। दोस्रो लहरको संक्रमणदर नेपाल मात्र नभई भारतमा पनि बिस्तारै कम हुँदै गएपछि सरकारले फेरि मुख्य नाकाहरूबाट आउजाउलाई खुकुलो बनाएको छ। तर भद्रपुर नाका खुला गरिएको छैन।
काँकडभिट्टा नाका खुकुलो बनाएसँगै भद्रपुर नाका खुलाउनुपर्ने भन्दै यहाँका जनता फेरि तातेका छन्। भारतबाट भद्रपुर भन्सारसम्म आउने सरसामानलाई भद्रपुर नाकामा कुनै रोक लगाएको छैन। सर्वसाधारणको आउजाउलाई मात्र रोक लगाएको छ। तर‚ अवैधानिक बाटोबाट दैनिक भारतीय र नेपाली नागरिक ओहोरदोहोर गरिरहेका छन्।
‘लामो समयदेखि दुवैतर्फका सीमा क्षेत्रमा नागरिकको एक–अर्कासँग पारिवारिक सम्बन्ध रहँदै आएको छ‚’ भद्रपुरका उद्योगी महेश मित्तलले भने, ‘भद्रपुर नाकामा आवत–जावतमा भइरहेको कडाइले एक परिवारको अर्को परिवारसँग, एक नातेदारको अर्को नातेदारसँग भेटघाट हुन नसकेको, संस्कार–संस्कृतिको आदान–प्रदान हुन नसकेको तीतो यथार्थ एकातिर छ भने आवश्यक औषधोपचारका लागि सहज रुपमा आउन–जान पाउने अवस्था पनि छैन।’
नाका खुलाउन उद्योगी व्यवसायीको माग
सरकारले भद्रपुरलगायत दक्षिणी भेगका बासिन्दा अपेक्षित गरेको भन्दै यहाँका उद्योगी व्यवसायीले सरकारलाई ध्यानाकर्षण गराएका छन्।
सरकारले भद्रपुर नाकाबाट आवतजावत सहज नबनाएको भन्दै झापा उद्योग वाणिज्य संघ र झापा उद्योग संघले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै सो नाका अविलम्ब सहज बनाउन सरकारसँग माग गरेको छ।
संघका अध्यक्ष नवराज पनेरुको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय झापा पुगेका उद्योगी व्यवसायीहरूको टोलीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनामार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरुले भद्रपुर क्षेत्रका उद्योगी व्यवसायी एवं सर्वसाधारणले पछिल्लो डेढ वर्षदेखि झेल्दै आएको समस्याप्रति गम्भीर भई भद्रपुर नाकाबाट आवत–जावत सहज बनाइदिन माग गरेका छन्।
प्रजिअ तिमिल्सिनाले ज्ञापनपत्र बुझ्दै तत्काल सम्बन्धित निकायहरूमा पठाइदिने प्रतिवद्धता व्यक्त गर्दै आफूबाट हुनसक्ने पहलकदमी गर्ने बताए। ज्ञापनपत्र गृह मन्त्रालय, अर्थ मन्त्रालय, झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देन, प्रदेशसभा सदस्य वसन्त बानियाँ, पूर्णप्रसाद राजवंशी, ओमप्रकाश सरावगी तथा भद्रपुर नगरपालिकासमेतलाई बोधार्थ पठाई भद्रपुर नाकाबाट आउजाउलाई सहज बनाउन पहल गरिदिन आग्रह गरिएको अध्यक्ष पनेरुले बताए।
त्यस्तै झापा उद्योग संघ जिल्ला कार्य समितिले पनि बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन्। झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई सो मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।
दक्षिणी झापावासीको सात दशकको लामो संर्घषपछि बनेको मेची पुलको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ १७ गते गरेका थिए।
स्रोत थाहा खबर









