श्रीकृष्ण जन्माष्टमी’ आज भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै


१४ भदौ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान्  श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ।

जन्माष्टमीका दिन पाटनको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ। यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने जनाइएको छ। ललितपुर महानगरपालिकाले सूचना प्रकाशन गरी भक्तजनलाई दर्शन गर्न नदिने जानकारी गराएको छ। यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वक पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष पूजा आराधना मात्र गर्ने गरी तयारी भएको छ। यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन पनि यस वर्ष प्रभावित भएको छ।

यस पर्वका अवसरमा विगत वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ। धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ।

घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ। यस अवसरमा विभिन्न विद्यालयले बालबालिकालाई श्रीकृष्णका रूपमा सिँगारेर यो पर्व मनाउने गरेकामा शैक्षिक संस्था बन्द रहेकाले यसपटक त्यस्तो कार्यक्रम छैन।

श्रीकृष्ण जन्माष्टमी अवसरमा राष्ट्रपतिको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देशमार्फत विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गराएकी छिन्। द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ।

राष्ट्रपतिले सन्देशमा भनेकी छन्, “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने अपेक्षा लिएको छु।”

राष्ट्रपतिले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउनु हुनेछ भन्ने पनि राष्ट्रपतिले आशा व्यक्त गरेकी छन्।

यसैगरी राष्ट्रपतिले भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरा पर्वका अवसरमा पनि शुभकामना व्यक्त गरेकी छिन्।

हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य छन् स् प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताएका छन्। श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालका मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एकसूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन्।

श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिसँगै धार्मिक सहिष्णुता, सद्भाव र भाइचारका लागि प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन्। “श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने सबैमा शुभकामना व्यक्त गर्दछु,” प्रधानमन्त्रीले सन्देशमा भनेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको