९ भदौ,कालीकोट । खाडाचक्र–६ गोरालवाडाकी एक किशोरीको मकैबारीमा शव भेटिएको छ । गत शुक्रबार बेलुकी घरबाट हराएकी १६ वर्षीया निरु विश्वकर्माको शव मंगलबार दिउँसो मकैबारीमा भेटिएको हो ।
आधा शरीर जंगली जनावरले खाएको अवस्थामा मकैबारीमा शव देखेपछि स्थानीय श्यामबहादुर शाहीले उनका आफन्तलाई खबर गरेका थिए । स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गरेका छन् । घरबाट ३ सय मिटर टाढा शव भेटिएको हो । हराएको चार दिनपछि छोरीको शव भेटिएको उनका बुबा रत्ने नेपालीले बताए । ‘छोरी लप्पनछप्पन केही नगर्ने सोझी थिई,’ उनले भने, ‘नजिकैको देवताको थानमा पैठ हेर्न गई कि सोचें, घर नआएपछि चिन्ता लाग्यो ।’ उनले छोरीको हत्या भएको सुनाउँदै सत्यतथ्य पत्ता लगाइदिन अनुरोध गरे ।
देवताको पूजापाठ गर्न आफन्तसँग ६२ हजार उठाएर आफू त्यसैमा लागेकाले हराएकै दिन सोधीखोजी गर्न नलागेको सुनाए । बालिकाको शव भेटिएको खबर आएपछि जिल्ला प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहको नेतृत्वमा सदरमुकाम मान्मबाट प्रहरी टोली खटिएको थियो । शवको मुचुल्का गरी पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको डीएसपी शाहले बताए । ‘शव सडेको अवस्थामा भेटिएको छ,’ उनले भने, ‘घटनाबारे आवश्यक अनुसन्धान गरिरहेका छौं ।’ उनका अनुसार शरिरको तल्लो भाग स्यालले खाएजस्तो देखिन्छ ।









