
२ भदौ, काठमाडौ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सिपिएल गुमाउने पक्का भएको छ ।
अगस्ट अन्तिममा ओमानमा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजका कारण सन्दीपले सिपिएल गुमाउने भएका हुन् ।
भिसाका कारण टी(२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड गुमाएपछि उनले यो प्रतियोगिता पनि गुमाएका छन् ।
सन्दीप सिपिएलको ट्रिनबागो नाइट राइडर्स क्लबमा अनुबन्ध भएका थिए । सिपिएल यही अगस्ट २६ तारिखदेखि सेप्टेम्बर १५ सम्म आयोजना हुने तालिका छ।
सिपिएलले मंगलबार नाम सार्वजनिक गर्दा सन्दीपको नाम सूचीमा राखेको थिएन । सन्दीप सिपिएलमा सामेल हुन नपाएपछि उनको ठाउँमा ट्रिनबागो नाइट राइडर्सले पाकिस्तानी बलर यासिर शाहलाई अनुबन्ध गरेको छ ।
सन्दीपले यसभन्दा अगाडि तीन सिजन सिपिएल खेलिसकेका छन् ।
त्रिकोणात्मक सिरिज अघि नेपाली टोलीले पपुवा न्युगिनी पिएनजी सँग दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने छ।
सन्दीपले ओमानको लिग पश्चात चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिगमा सहभागी हुनेछन् । त्यसमा उनले यस पटक काठमाडौं किङ्सको कप्तानी सम्हाल्ने छन् ।