२५ साउन, काठमाण्डौ । विधान महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आज सोमवार बसेको स्थायी कमिटी बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको हो । स्थायी कमिटी बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘स्थायी कमिटीको बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने भनेर पास भयो ।’
एमालेको केन्द्रिय कमिटी बैठकमा पनि केहीबेरपछि तुलसीलाल स्मृति प्रतिष्ठान भवनमै बस्नेछ । बैठकले स्थायी कमिटी बैठकले पारित गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ ।
आउँदो भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशनको मिति तोकिएको छ । वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टीको कुनै पनि साङ्गठनिक गतिविधि अघि नबढाउन आग्रह गरिरहेका बेला संस्थापन पक्षले भने विधान महाधिवेशनको तयारीको कामलाई तीव्रता दिएको हो ।