२३ साउन, रुपन्देही । दैनिक संक्रमण बढिरहेका बेला कोरोना उपचारमा प्रदेशमै अब्बल देखिएको लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुख परिवर्तनको खेल सुरु भएको छ । पहिलो र दोस्रो चरणमा संक्रमितको उपचार र व्यवस्थापनमा खटिएका सिनियरलाई हटाएर जुनियरलाई प्रमुख बनाउने सरकारको तयारी छ ।
प्रदेश सरकारले अहिले कार्यरत ११ औं तहका मेडिकल सुपरिन्टेन्डेन्ट डा। राजेन्द्र खनाललाई हटाएर १० औं तहका डा। इन्द्र ढकाललाई नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार मन्त्रालयबाटै ढकालको निवेदन मगाएर फाइल तयार गरी अघि बढाइएको छ ।
ढकाल यसअघि पनि अस्पताल प्रमुख हुने लबिइङमा थिए । तर, मुख्यमन्त्री शंकर पोखरेलले डा। खनाललाई प्रमुख बनाउने निर्णय गराएका थिए । अहिले तिनै खनाललाई हटाउन मुख्यमन्त्री पोखरेल पनि तयार भएको स्रोतको दाबी छ । ‘अहिले मुख्यमन्त्री पोखरेल स्वयं खनाललाई हटाएर अर्को सुपरिन्टेन्डेन्ट नियुक्त गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठलाई दबाब दिइरहेका छन्,’ स्रोतले भन्यो ।
अस्पतालको रेडियोलोजिस्ट विभागमा कार्यरत डा। खनाल २०७६ मंसिर ३ गतेको प्रदेश मन्त्रिपरिषद्बाट प्रमुखमा नियुक्त भएका थिए । ढकाल अहिले पनि अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा कार्यरत छन् । उनले मेसु नियुक्तिका लागि मंगलबार मन्त्रालयमा निवेदन दिएका छन् । अस्पतालमा डा। खनालसँगै चार जना ११ औं तहका डाक्टर छन् । ११ औं तहका डाक्टरले भने १० औं तहका डाक्टर प्रमुख हुँदा आफूहरूलाई पनि काम गर्न अप्ठ्यारो पर्ने गुनासो गरेका छन् ।
अस्पतालमा ११ औं तहमा कार्यरत एक डाक्टरले कोभिडको तेस्रो चरणको संक्रमण बढ्न थालेका बेला अहिले व्यवस्थापन गरिरहेका प्रमुखलाई हटाएर अर्को ल्याउनु गलत हुने बताए । ‘अहिले जसले व्यवस्थापन गरिरहेको छ, उसलाई नै त्यहीं जिम्मेवारीमा राख्दा राम्रो हुन्छ,’ उनले भने, ‘कोभिड संक्रमण बढ्ने र नयाँ प्रमुख आउँदा तालमेल मिल्न सकेन भने संक्रमितको उपचार सेवा नै प्रभावित हुन सक्छ ।’ अस्पतालमा मेसु डा। खनालले भने आफूले पनि बाहिर हल्ला सुनेको तर आधिकारिक कुनै जानकारी नआएको बताए ।
प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र नभएर प्रदेशका सबै अस्पतालमा लामो समय एकै व्यक्तिलाई प्रमुख बनाउँदा सेवा प्रभावकारी नहुने र सुशासन एवं सिर्जनशीलता हराउने भएकाले प्रमुख फेरिन सक्ने बताए । काम र संस्थागत सुधारका लागि प्रमुख परिवर्तन स्वाभाविक हुने उनको दाबी छ ।