धनुषाका आशिक झा एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट


२२ साउन, धनुषा । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट बनेका छन् ।

शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा झाले १ सय ८६ अंक प्राप्त गरेका छन् । उत्कृष्ट अंक हासिल गरेसँगै झाले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाएका छन् ।

देशभरिबाट ११ हजार प्रतिस्पर्धीलाई उछिन्दै झा सर्वोत्कृष्ट बनेका हुन्। आयोगले पहिलो पटक एमबीबीएसका निम्ति एकीकृत परीक्षा लिएको हो। यसअघि विश्वविद्यालयपिच्छे फरक–फरक परीक्षा लिइन्थ्यो। त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयबाट विज्ञान विषय कक्षा ११ र १२ लिएर पढेका झाले २०७७ सालको ब्याचमा उत्कृष्ट अंक लिएर उत्तीर्ण गरेका थिए। त्यसलगत्तै एमबीबएीस अध्ययनका निम्ति लिइएको प्रवेश परीक्षामा पहिलो पटकमै उत्कृष्ट बनेका हुन्। विद्यालयले झालाई शुक्रबार बधाई दिएको छ।

साधारण कृषक परिवारमा जन्मिएका झाले जनकपुरको श्री माध्यमिक विद्यालयबाट ३ दशमलव ७ जीपीएसहित एसईई उत्तीर्ण गरेका थिए। ‘बुवा–आमा सामान्य कृषि पेसा गर्नु हुन्छ,’ उनले भने, ‘मेरो दाइ अम्बेश झा बीएएमएस पढ्दै हुनुहुन्छ। उहाँकै प्रेरणा र सहयोगले आज एमबीबीएस पढ्ने अवसरको ढोका खुलेको हो।’

सर्वोत्कृष्ट हुन्छु भनेर नपढेको तर जसरी पनि राम्रो गर्छु भनेर पढेको आशिकको भनाइ छ। ‘पढ्नका निम्ति डेडिकेसन चाहिन्छ, मेहनत त गरिहालिन्छ,’ उनले भावी उद्देश्यबारे भने, ‘यो अवसरलाई म समाजका निम्ति केही योगदान गर्ने लक्ष्यमा बदल्न चाहन्छु।’

विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले झा अत्यन्तै सिर्जनशील र मेहनती विद्यार्थी हुन्। उक्त विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षाशास्त्रका गरी १ हजार ९ सय विद्यार्थी पढ्छन्। काठमाडौं महानगरपालिकामा रहेका उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक हो। कँडेलका अनुसार यस विद्यालयबाट गत वर्ष ८ जनाले एमबीबीएस अध्ययनका लागि छनोट भएका थिए


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको