महोत्तरी ३ लाख रुपैया लुटपाट गरि फरार भएको झुठो उजुरी दिने मामा-भान्जा पक्राउ


२२ साउन, महोत्तरी । महोत्तरी प्रहरीले ३ लाख रुपैया लुटपाट गरि फरार भएको झुठो उजुरी दिने दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई झुठो उजुरी दिएको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरु नातामा मामा–भान्जा पर्ने हुन् ।

मेलाजिमले मामाको घरबाट ३ लाख रुपैयाँ लिएर गत साउन १९ गते घरतिर आइरहँदा सोनमा गाउँपालिका १ बाट उक्त रकम लुटपाट भएको भन्दै प्रहरीमा मौखिक उजुरी दिएका थिए ।

उनले सोनमा गाउँपालिका–१ बस्ने ५२ वर्षीय तौकिर अन्सारी, २२ वर्षीय इन्जाम आलम, २१ वर्षीय समिरुल अन्सारी, २२ वर्षीय असरफ अन्सारी र २४ वर्षीय सगिर अन्सारी समेतले रकम लुटेर फरार भएको जानकारी इलाका प्रहरी कार्यालय गौशालालाई गराएका थिए ।

मौखिक उजुरी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले आरोपितहरुलाई नियन्त्रणमा लिई उजुरीकर्ता मोलाजिम र उनको मामा ऐनुललाई समेत इलाका प्रहरी कार्यालय गौशालामा उपस्थित गराएको थियो । अनुसन्धान गर्दा मोमिनले मामा घरबाट रुपैयाँ लिएर आएको नदेखिएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

आफ्नो गाउँघरको झै–झगडाको रिसिइबीका कारण झुठो उजुरी गरी फसाउने नियत देखिएकाले मामा–भान्जालाई नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको