१९ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको आग्रहअनुसार मन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यलाई राजीनामा गर्न आग्रह गरेको ऊर्जा मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो । शाक्यले भने कुनै जवाफ दिएका छैनन् ।
नेपालबाट लोडसेडिङ अन्त्यका लागि भूमिका खेलेका कुलमानलाई ल्याउँदा सकारात्मक सन्देश जाने सरकार पक्षको विश्लेषण छ । राजीनामा नगरे स्पष्टीकरण सोधेर भए पनि शाक्यलाई हटाउने तयारी रहेको मन्त्रालय स्रोतले बतायो ।
पाँचवर्षे कार्यकाल सकिएपछि कुलमान २०७७ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकबाट बाहिरिएका थिए । त्यसलगत्तै तत्कालीन सरकारले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाएको थियो ।
२०७७ माघ २६ गते सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्राधिकरणमा कुलमानलाई ल्याउन मन्त्री भुसाललाई सुझाव दिएका स्रोतले बतायो ।