५ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालको महन्थ ठाकुर पक्षले आफूहरूसँग गरिएको प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
अदालतको आदेशबाट प्रधानमन्त्रीमा नियुक्त देउवाले संसदमा विश्वासको मत लिनुअघि जसपाको ठाकुर पक्षसँग माग पूरा गर्ने प्रतिबद्धता गरेका थिए । ठाकुर पक्षले विश्वासको मत लिनुअघि गरेको सोही प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको हो ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले आफ्ना माग पूरा गराउन वर्तमान प्रधानमन्त्रीसँग माग गर्ने र अघिल्लो सरकारले गरेका सकरात्मक कामका लागि धन्यवाद दिने निर्णय भएको जनाएका छन् ।