५ साउन ,जनकपुरधाम । संघीय सरकारको जनकपुर जयनगर संचालन गर्ने योजना र प्रदेश २ सरकारको प्रादेशिक परिवहन नामक बस सेवा संचालन गर्ने सायद कहिले जुर्ने भन्ने ठेगान नै हुन सकेको छैन ।
प्रदेश २ सरकारले २०७७ फागुन १ गते पत्रकार सम्मेलन नै गरेर फागुन महिनाभित्रै प्रदेश परिवहन सेवा सञ्चालन हुने घोषणा गरेका थिए । तर सरकारी स्तरबाट संचालन गरिने भनेर खरिद गरिएको बसहरु महिनौंदेखि त्यसै घाम र पानीमा थन्क्याएर राखिएको छ ।
प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका जनताको लागि राजधानी जनकपुरधाम संग प्रदेशको मुख्य शहरहरुलाई जोड्ने गरि संचालन गरिने भनेर ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरेको थियो । अहिले यी बसहरु एक वर्ष देखि मधेस भवनको परिसरको खेल मैदानमा त्यसै थन्किाएर राखिएको छ । जनकपुरधामदेखि वीरगञ्ज, वीरगञ्जदेखि जनकपुरधाम र जनकपुरधामदेखि राजविराजसम्म सो परिवहन सेवा सञ्चालन गरिने मन्त्रालयको योजना थियो ।
तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बस सेवा सञ्चालनको लागि कार्यविधि बनाएर एक सञ्चालक समिति मार्फत सेवा संचालन गरिने बताएका थिए । तर त्यो नहुँदै उनलाई मन्त्रीबाट पदमुक्त गरियो ।
वर्तमान भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश परिवहन सेवा सञ्चालन गर्ने कि अन्य किसिमले बसलाई व्यवस्थापन गर्ने त्यसको लागि तयारी थालिएको बताए । यादवको अनुसार प्रदेश परिवहन बस सेवा संचालन गर्ने कि बसहरूलाई अन्य कामका लागि कुनै संस्थालाई दिएर व्यवस्थापन गर्ने भन्ने तर्फ पनि छलफल भइरहेको छ । उनले भने, ‘ बसहरू हतार खरिद गरिएको जस्तो देखिन्छ, बिना कुनै योजना खरिद गरिएका बस सरकार आफैंले सञ्चालनमा ल्याउनुको कुनै तुक छैन ।’
त्यसैगरि प्रदेश सरकारले गत जेठ २८ गते खरिद गरेर ल्याएका ९ वटा वारुणयन्त्रहरु पनि प्रयोग विहीन अवस्थामा रहेका छन् ।
प्रदेशका विभिन्न जिल्लामा वर्षेनी हुने आगलागीबाट भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण तथा आगलागी नियन्त्रणका लागि वारुणयन्त्र वार्षिक कार्यक्रम अन्तर्गत खरिद गरेपनि ति सबै वारुणयन्त्रहरु मधेस भवनको परिसरको खेल मैदानमा थन्काएर राखिएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत ५३ लाख रुपैयाँका दरले ४ करोड ७७ लाख रुपैयाँमा खरिद गरिएका वारुणयन्त्र ८ वटै जिल्ला प्रशासन कार्यालय र एउटा २ नम्बर प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गर्ने गरि खरिद गरिएको बताइएपनि हाल सम्म केहि नगरि त्यसै थन्काएर राखिएको छ।
अहिले यस मन्त्रालयको नाम समेत परिवर्तन गरि आन्तरिक मामिला तथा संचार मन्त्रालय बनाइएको छ भने मन्त्री समेत परिवर्तन भएको छ । तत्कालिन आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवको बेला खरिद गरिएको यस वारुण यन्त्र बारे वर्तमान आन्तरिक मामिला मन्त्री भरत साहले भर्खरै मन्त्रालय सम्हालेको हुँदा बुझ्नु पर्ने बताए ।उनले वारुण यन्त्रबारे बुझेर छिट्टै व्यवस्थापन गर्ने बताए ।