२८ असार काठमाडौँ । एमाले उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्यले प्रधानमन्त्री बन्न पाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । यसअघि पार्टीभित्र पनि यस्तै प्रस्ताव राख्दै आएका गौतमले आइतबार राष्ट्रिय सभा बैठकमा यो विषय प्रवेश गराएका हुन् । उनले आफूले उक्त विषय एक वर्षअघि उठाउँदा सार्वजनिक रूपमा आलोचना खेप्नुपरेको बताए ।
विभिन्न देशमा राष्ट्रिय सभा सदस्यले प्रधानमन्त्री बन्न पाउने व्यवस्था रहेको उनले बताए । उनले प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेर राष्ट्रिय सभा र प्रतिनिधिसभाबीचमा विभेद नराख्न पनि आग्रह गरे ।
‘राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने प्रस्ताव पारित गर्न म यो सदनसमक्ष प्रस्ताव गर्छु,’ उनले भने । आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समयमा राष्ट्रिय सभा सदस्य लड्न भन्नुभयो । ‘म लड्दिनँ भनें, किन भनेर सोध्नुभयो, म लड्नुपर्छ भने राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था मिलाउन भनें,’ गौतमले विगत कोट्याए ।
विगतमा आफ्नो विरोध भए पनि अहिले फेरि यो कुरा उठाएको उनले बताए । गौतमले प्रस्ताव मञ्जुर भए पास गर्न सभालाई आग्रह गरे । आफू प्रधानमन्त्री बन्न यस्तो प्रस्ताव ल्याएको भन्दै गत वर्ष उनको भनाइको आलोचना भएको थियो । ‘प्रधानमन्त्री बन्न नियमावली परिवर्तन गर्नुपर्छ,’ उनले भने । बेलायतको जस्तो हाउस अफ कमन्स भएर बस्ने हो भने अलग कुरा हो भन्दै उनले बजेट पनि राष्ट्रिय सभामा प्रस्तुत गर्नुपर्ने बताए ।
राष्ट्रिय सभा विघटन नहुनुको अर्थ प्रतिनिधिसभाको पनि काम गर्न सक्ने उनले तर्क गरे । उनले अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा बजेट प्रस्तुत गर्नुपर्ने तर्क गर्दै विगत तीन वर्षको बजेटमा सामाजिक सुरक्षासम्बन्धी कुनै नीति नल्याएको बताए । आफ्नो पार्टीको गतिविधि र क्रियाकलापका कारण जनताले शिर निहुर्याउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो । राम्रो–नराम्रो जे गरे पनि सबै निर्णय पार्टीसँग जोडिने भएकाले बोल्नुपर्ने अवस्था आएको उनले बताए । उनले सरकारले संविधान र ऐन–नियम कुल्चिएको आरोप लगाए ।