२५ बैशाख, विविसि- अधिवेशनको पूर्वसन्ध्यामा दुई मन्त्रीसहित २६ सांसदहरू कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई एकान्तवासमा रहेका छन्।
मन्त्रीहरू भानुभक्त ढकाल र जुली महतो एवम् अन्य सङ्क्रमित सांसदहरूलाई आगामी साता प्रधानमन्त्रीको विश्वासको मत लिने प्रतिनिधिसभाको बैठकमा मत हाल्ने अवसर दिने तयारी गरिएको बताइएको छ।
कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरका कारण उपत्यकासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाबीच सोमवारबाट शुरू हुने विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बताएका छन्।
त्यसअघि आइतवार बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले सङ्क्रमित सांसदहरूका लागि मतदानको व्यवस्था गर्ने प्रक्रियाबारे निर्णय गर्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए।
विश्वासको मत लिने प्रस्ताव सफल वा असफल बनाउन थोरै सांसदहरूको सङ्ख्याले समेत फरक पर्ने भएकाले सबैलाई मतदानको व्यवस्था गर्नेबारे छलफल भइरहेको योगीले बताए।
धेरै सांसदहरू कोरोना सङ्क्रमित रहेको खबर पाएपछि उहाँहरूलाई कसरी मतदानमा सहभागी गराउन सकिन्छ भन्नेबारे सभामुखले छलफल सुरु गर्नुभएको छ, योगीले भने।
कतिजना सांसद सङ्क्रमित
बुधवार र बिहीवार संसद् भवन नयाँ बानेश्वरमा २०५ जना सांसदको परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट आउँदा १८ जनामा सङ्क्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ।
त्यसअघि नै दुईजना मन्त्रीसहित आठजना सांसदहरू सङ्क्रमण भएर एकान्तवासमा थिए।
मन्त्री ढकाल र मन्त्री महतोले सामाजिक सञ्जालमा आफ्नो सङ्क्रमण पुष्टि गरिसकेका छन्।
सचिवालयका अनुसार सबैभन्दा धेरै सत्ताधारी नेकपा एमालेका १६ जना सांसदलाई सङ्क्रमण पुष्टि भएको छ भने जनता समाजवादी पार्टीका पाँच जना, नेपाली काँग्रेसको तीन जना र माओवादी केन्द्रका दुई जना सांसद सङ्क्रमित छन्।
एमालेका सङ्क्रमितमध्ये दुईजना मन्त्री र एकजना पूर्वप्रधानमन्त्री समेत रहेको सचिवालयले जनाएको छ।
सङ्क्रमित सांसदहरूलाई मतदानबाट वञ्चित गर्दा विश्वासको मतका लागि संसदको अङ्कगणितमै ठूलो फरक पर्ने भएपछि सत्ताधारी र विपक्षी दलहरू सबैलाई मतदानमा सहभागी गराउन एकमत भएका हुन्।