महामारीको मौका छोपी प्रदेश सभासदस्य भ्रष्टाचारमा लागेको आरोप


रासस 
२४ बैशाख ,जलेश्वर-  महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं.३ को ‘ख’ बाट प्रदेश नं.२ को प्रदेश सभासदस्यमा निर्वाचित हुनुभएका रानी कुमारी तिवारी कोरोना महामारीको मौका छोपी प्रदेश सरकारको बजेट कुम्ल्याउनमा व्यस्त रहनुभएको आरोप लागेको छ ।
विश्वजगत्को साथै नेपाल र नेपालको साथै महोत्तरी जिल्ला पनि कोरोनाको दोस्रो लहरबाट प्रभावित भई अहिलेसम्म ७ जना गुमाईसकेको अवस्थामा जनताको सेवा, जनताको हेरचाह, जनताको उपचार र जनताको लागि राहत व्यवस्था गर्नुपर्ने कामलाई पाखा लगाउँदै प्रदेश सभा सदस्य तिवारी अहिले जिल्ला सदरमुकाम जलेश्वरमा एक जीर्ण धर्मशालामा लाखौ सरकारी रकम भ्रष्टाचार गर्नमा लागेको जलेश्वरका राजनीतिकर्मी आशुतोष झाले आरोप लगाउनुभएको छ ।
प्रदेश सभासदस्य तिवारी प्रदेश सरकारको १५ लाख रुपैयाको बजेट ल्याएर अहिले जलेश्वर नगरपालिका–१ स्थित पगलाबाबा धर्मशालाको मर्मत सम्भारको नाउँमा चरम अनियमितता गरिरहेको स्थानीय बासीन्दा शिवचन्द्र चौधरीले आरोप लगाउनुभएको छ ।
प्रदेश सभा सदस्य तिवारीले प्रदेशबाट बजेट ल्याएर उपभोक्ता समिति मार्फत धर्मशालाको चार कोठाको प्लाष्टर, पेन्टिङ्ग, वाईरिङ्ग, टाइल्स लगाउने, रेलिङ्ग र भ¥याङ्ग घर निर्माण कार्य गरिरहेको छ जुन काम ३ देखि ४ लाख रुपैयाको मात्रै हुनसक्ने भन्दै चौधरीले यसमा व्यापक भ्रष्टाचारको दुर्गन्ध आइरहेको थप्नुभयो ।
धर्मशालामा भइरहको मर्मत सम्भारको काममा १५ लाख रुपैया नलाग्ने उपभोक्ता समितिका अध्यक्ष रहेका राजकुमार साहले समेत स्वीकार गर्नुभएको छ । साथै उहाँले यसमा यति लगानी गर्नुपर्ने आवश्यकता समेत नरहेको बताउनुभयो ।
जलेश्वर नगरपालिकाको कार्यालयसँगै रहेको बरुण सरोवरको उत्तरपट्टी स्मशानघाटसँगै टाँसिएर रहेको पगलाबाबा धर्मशाला २०५७÷५८ मा पगलाबाबा नाम गरेको एक साधुले चन्दा माँगेर १८ वटा कोठा सहितको धर्मशालाको निर्माण गर्नुभएको थियो ।
सो धर्मशाला उचित हेरचाह, अभिभाकत्व र संरक्षणको अभावमा निक्कै जीर्ण भइसकेको, छत, पर्खाल, भूँई सबैतिर चिरा परिसकेको र कुनैपनि बेला ढल्न सक्ने अवस्थामा रहेको छ भने त्यसमा अहिले प्रदेश सभासदस्य तिवारीद्वारा गरिएको लगानी केवल बालुवामा पानी हालेको स्थानीयबासी बिजय रायको आरोप रहेको छ ।
उनले प्रदेश सभासदस्य तिवारीले नाम मात्रको केहि पनि नजान्ने बुझ्ने सोझासाझा व्यक्तिलाई झूठा उपभोक्ता समितिको अध्यक्ष बनाएर आफ्नो आफन्तद्वारा सो धर्मशालाको मर्मत सम्भारमा लाखौ रमक लगानी र ठूलो कमिशनको खेल्न गर्न लागेको थप्नुभयो ।
यसैगरी स्थानिय समाजसेवी अमरदीप साहले सो धर्मशालामा मर्मत सम्भारको नाउँमा प्रदेश सभासदस्य तिवारीले पहिलेदेखि नै रहेको प्लाष्टमाथि अहिले माथि माथि देखिने गरी अलिअलि प्लाष्टर, त्यस्तै पहिला देखि गरिएको पेन्टमाथि अलिअलि पेन्ट र जति गरेपनि सुधारमा नआउने कोठाहरुको माथि माथि मात्रै देखिने मर्मत सम्भार गरेर प्रदेश सभासदस्य तिवारीले रकम अनियमितता बाहेक अरु केही नगरेको आरोप लगाउनुभएको छ । उहाँले यस्तो महामारीको बेला प्रदेश सभासदस्य तिवारीले जनताको सेवा छाडेर कमिशनको खेलमा लाग्नुभएको कुरा लज्जास्पद रहेको बताउनुभयो ।
यस्तो भ्रष्टचारको खेलमा लाग्नुभएका प्रदेश सभासदस्य तिवारीको कामको अबिलम्ब अख्तियार दुरुपयोग अनुसन्धानले स्थलगत अनुगमन गरी आवश्यक कानूनी कारबाही गर्नुपर्ने उहाँले माँग गर्नुभयो ।
यस सन्दर्भमा प्रदेश सभासदस्य तिवारीसँग सोधपुछ गर्दा उहाँले आफूले कुनै प्रकारको आर्थिक अनियमितता गर्न नलागेको प्रतिक्रिया दिनुभएको छ । उहाँले त्यस धर्मशाला जीर्ण रहेको अवस्थामा रहेको, त्यसको मर्मत सम्भार र संरक्षणका लागि केहि स्थानीयहरु विगत ३÷४ वर्षदेखि आफूलाई त्यहाँ केहि पैसा हालिदिनुस भनेर आग्रह गर्दै आएपछि आफूले केहि पैसा हालेर त्यसको मर्मत सम्भार गर्न लागेको बताउनुभयो । ‘केहि पैसा लगाईदिएमा सो धर्मशालाको स्वरुप फेरिने र केहि मान्छेलाई बस्ने आश्रय स्थल मिल्ने भएमा त्यहाँ पैसा लगाउनु के गल्ती हो?’ उहाँले थप्नुभयो ।
उहाँले प्रदेश नं.२ को पर्यटन मन्त्रालयबाट आफूले १५ लाख रुपैया ल्याएर स्थानीय स्तरमा नै उपभोक्ता समिति मार्फत काम गर्न लगाएको र त्यहाँ हुने कामको मन्त्रालयका प्राविधिक टोलीले नाप जाँच गरेर मुल्याँकन गरी काम बराबरको भूक्तानी दिने हो । आफूले त्यहाँ आफ्नो मनले केहि गर्न र गराउन नलागेको तथा कुनै हिनामिना समेत गर्न नलागेको तर्क दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको