ओलीले जे मन लाग्यो त्यही, गर्नै नहुने’ काम गर्न थाले : अध्यक्ष दाहाल


२१ माघ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ‘जे मन लाग्यो त्यही र गर्नै नहुने काम मात्रै गर्न थालेको आरोप लगाएका छन् ।

बुधबार बहिर्गमित जनमुक्ति सेनाको भेलालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली नेत्तृत्वको सरकारलाई ‘जंगली’को संज्ञा दिँदै जे मन लाग्यो त्यही र गर्नै नहुने काम गर्न थालेको आरोप लगाएका हुन ।

उनले आज भएको संवैधानिक निकायका पदाधिकारीहरुको शपथग्रहण गर्नै नहुने काम भएको बताए ।

‘अहिले सरकारले जे मन लाग्यो त्यही गर्न थालेको छ । बरु पहिले हामी बिधी, पद्धति, दर्शनमा थियौं । तर, हामीलाई केही मान्छेले जंगली भन्थे । हामी जंगली त थिएनौं । जनताको काखमा थियौं । अहिले केपी ओलीको सरकार चाहीँ जंगली भयो,’ प्रचण्डले भने, ‘न संविधान मान्छ । न विधिपद्धति मान्छ । सबै तोडेर असंवैधानिक रूपमा संवैधानिक परिषद्को शथपग्रहण गराए । गर्नै नहुने काम गरे ।’

सम्बोधनकै क्रममा उनले पूर्व जनमुक्ति सेनाहरुलाई हरेक पार्टी कमिटीमा स्थापित गर्न नसक्नु कमजोरी भएको बताए । उनले जनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने प्रतिवद्धता पनि जनाए ।

उहाले बहिर्गमित जनमुक्ति सेनालाई केपी शर्मा ओली पक्षले भेडाबाख्रा जस्तै किनबेच गर्न खोजेको आरोप लगाए । ओलीले अहिले जनमुक्ति सेनालाई माया गरेजस्तो गरेर मुटुमा छुरा रोप्न खोजेको उनले आरोप लगाए ।

हिजो बहिर्गमित जनमुक्ति सेना र उनीहरुको परिवारलाई वृद्धि विकास गरौँ भन्दा लाठीचार्ज र प्रचण्डको चेलाचपेटा भन्दै बेवास्ता गर्ने ओलीले अहिले पार्टी फुटेपछि चाहिँ तिनै बहिर्गमित जनमुक्ति सेना खोज्न थालेको प्रचण्डले आरोप लगाए ।

उनले ओलीले अहिले आफूलाई समेत जोडेर ‘कालीबहादुर खाम कहाँ छन्, प्रचण्डले हेरेको छ रु’ भनेर भन्ने गरेको सुनेको भन्दै ‘के केपीले हेर्छन् जस्तो लाग्छ रु’ भनेर प्रश्न समेत गरेका थिए ।

उनले आफूहरु प्रतिगमन, प्रतिक्रान्तिका विरुद्ध र संविधानको रक्षाका लागि सडकमा आएको भन्दै संविधानको रक्षा नै अहिलेको आवश्यकता रहेकाले बताए । प्रधानमन्त्रीको कदमलाई प्ररास्त गर्ने र मुलुकलाई सही ट्रयाकमा ल्याउने उनले दाबी गरे ।

उनले ओली नेतृत्वको सरकारलाई १० महिनामै पराजित गर्ने समेत बताए। उनले त्यसपछि पूर्व जनमुक्ति सेनालाई सम्मान र पुरस्कृत गर्ने बताए। उनले बहिर्गमित जनमुक्ति सेनाको एउटै कमिटी बनाउन आग्रह समेत गरे।

‘मैले हिम्मत हारेको छैन । पहिला त हामीले १० वर्ष लडेका हौँ । तर अहिले पर्दैन, १० महिना पनि पर्दैन । हामीले जित्छौँ र जित्नैपर्छ, आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गर्दछु,’ उनले भने ।

कार्यक्रममा पूर्व जनमुक्ति सेनाका प्रतिनिधिहरुले आफ्नो समस्याका बारेमा अध्यक्ष दाहाललाई अवगत गराएका थिए ।
स्रोत खबर हव


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको