देबराज तामाङ
३० गतेका दिन जुन स्थानिय चुनाब हुन गैरहेको छ त्यो कुनै पर्टी कुनै ब्याक्तिको फाईदाको लागि हो भनेर हामी मतदाताले नसम्झिदीनु होला त्यो ३० गतेको दिन भनेको हाम्रो गाउँ बस्तिलाई कसरी परिबर्तन गरेर बिकासको बाटो लैजान सकिन्छ भन्ने दिन हो ।
योग्यता, चरित्र र सम्बद्धता यी तीन तत्त्वहरूको मूल्यांकन गरेर मतदान गर्न सकिन्छ । सही उम्मेदवारको छनौट तपाईंको अधिकार र कर्तव्य दुबै हो ।
माथि उल्लेखित कुनै कुराको ख्याल नगरी राजनीतिक दललाई मत दिनु भनेको हामीले हाम्रो नैतिकतामाथि नै धावा बोल्ने काम गर्नु हो । तपाईंसँग मत माग्ने प्रत्येक उम्मेदवारको नैतिक मूल्य मान्यताका बारेमा तपाईंले कहिल्यै सोच्नुभएको छ ? भोट माग्ने व्यक्तिको आहार बिहार र विचारको बारेमा प्रश्न गर्नुभएको छ ? हामीले मतदानमार्फत प्रदान गर्ने सवै शक्तिले हाम्रो जीवनमा निकै ठूलो असर पर्छ, साथै यसको निकै ठूलो महत्त्व पनि छ ।
सही उम्मेदवारलाई मतदान गर्नुहोस् । तपाईंको मनले ठीक मानेको उम्मेदवारलाई मतदान गर्नुहोस् न कि पार्टी र यसको चुनाव चिह्न हेरेर हैन । प्रमाणित गर्नुहोस् कि तपाईंको मत निकै ठूलो शक्ति हो । जसले तपाईंको मत लिन्छ, उसले समाज, गाउँ शहर, तपाईंको क्षेत्र र सम्पूर्ण देशका लागि के गर्न सक्छ भन्ने कुराको हेक्का राख्नुहोस् ।
यसरी गरिने मतदानले मात्रै जनहितमा काम हुनेछ । परिवर्तन र जनकल्याण हुनेछ । पार्टी र यसको चुनाव चिह्न मात्र हेरेर मतदान गरिँदा जनतामा फेरि निराशा र वितृष्णा पैदा हुने खतरा रहन्छ, जुन कुरा पटक्कै राम्रो होइन । मत जनताको शक्तिको साधन हो । खराब र भ्रष्ट उम्मेदवारलाई भोट नदिनु विवेकको कुरा हो ।
राजनीतिमा पनि राम्रोलाई पुरस्कृत र नराम्रोलाई दण्ड दिने प्रचलन छ भने हामी किन शुरूआति चरणमै असल र खराब नछुट्याउने ? हामी किन अब पनि चुनाव चिह्न र फलानो पार्टी भनेर बसिरहने ? हामीलाई त काम गर्ने मान्छे चाहिन्छ भन्नेबारे किन आज नै नसोच्ने ? ह त्यही सोच्ने दिन हो बैशाख ३० गते अतः हामीले आफ्नो मतको सही सदुपयोग गर्ने बेला आएको छ ।
के अब यो अभ्यास परिवर्तन गर्नुपर्दैन ? कहिलेसम्म धानिरहने भेडाहरूको शासन ? कहिलेसम्म सहिरहने जुकाहरूको मनमौजी ? भन्नुस्, कहिलेसम्म ? अब जवाफ दिने हामी मतदाताको हो।
पार्टी र पार्टीको झण्डाभन्दा माथि उठेर आफ्नो हकअधिकारको पक्षमा लड्ने उम्मेदवार चयन गरौँ । मतको सदुपयोग गरौँ । फेरि पनि मेरो गोरुको बाह्रैटक्काको स्थिति आयो र तपाईं हामी पुरानै शैलीमा मासु र रक्सीमा बिक्यौँ भने हाम्रो भविष्य बिक्री हुनेछ ।
आउनुहोस्, सचेत र सजग जनताको भूमिका निभाउने वचनबद्धता बोकेर आजै र अहिल्यैदेखि आफूलाई तयार पार्नुहोस् । गलतलाई गलत र सहीलाई सही हो भन्नका निम्ति ।
सामान्य जागिर खानका लागि समेत न्यूनतम योग्यताको जरुरी पर्छ भने राजनीतिमा आउनका लागि किन पर्दैन ? कुनै मान्छेले न्युनतम योग्यताबेगर कुनै पनि सरकारी वा गैरसरकारी संस्थामा जागिर माग्यो भने नदिइएजस्तै निश्चित योग्यता नपुगेकाहरूलाई राजनीतिमा प्रवेश दिनुहुन्न भन्ने विचार हो मेरो।
हामीले यस्ता मान्छे जिताउँछौं कि यो देशमा कार्बनडाइअक्साइड र अक्सिजन केले दिन्छ भन्ने कुरा थाहा नहुने व्यक्ति वनमन्त्री हुन्छन् ।
किसान को हो र किसानका समस्या के(के हुन् भन्नेबारे जीवनको कुनै कालखण्डमा नदेखेको मान्छे कृषिमन्त्री हुन्छ । जो आफैँ साधारण हस्ताक्षर गर्नसम्म सक्दैनन्, तिनै शिक्षामन्त्री हुन्छन् । जसलाई अर्थ(वाणिज्य र व्यापारसम्बन्धी कुनै ज्ञान हुँदैन, उही यो देशमा अर्थमन्त्री हुन्छ । यस्ता मान्छे सञ्चारमन्त्री हुन्छन्, जसलाई मास कम्युनिकेशनको कुन चराको नाम हो थाहा हुँदैन । यी र यस्ता थुप्रै कुराहरू छन् ।
अब जवाफ दिने मात्र हैन पार्टी हेरेर पनि हैन ब्यत्ति हेरेर र उसले बोकेको एजेन्डाहरु बुझेर भोट दिनुहोस ।









