२७ फागुन,धनुषा । महोत्तरीको भंगाहास्थित कञ्चनवनमा त्रेता युगमा भगवान् रामले होली खेलेको मान्यता अनुसार मिथिला मध्यमा परिक्रमा सहभागी साधुसन्तहरु रंग, अबिर दलेर होली मनाएका छन् । ध्रुव कुण्डबाट बिहीबार १५ दिन मिथिला मध्यमा परिक्रमा सहभागीहरु कञ्चनवन आएर होली खेलेका हुन् ।
महोत्तरीको कञ्चनवन पुगेका परिक्रमा होलीको लोक गीत ‘होरी’ गाउँदै एक अर्कालाई अबिर दलेर उनीहरुले होली मनाएका हुन् । परिक्रमामा सहभागीहरुसँग होली खेल्न लोसपाका नेता एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारी, मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायतका जनप्रतिनिध समेत पुगेका थिए । भंगाहा नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएर कञ्चनवनमा परिक्रमामा सहभागीहरुलाई स्वागत गरेका छन् ।
धार्मिक तथा पौराणिक मान्यताअनुसार भगवान् रामले होली खेलेको ठाउँ कञ्चनवन पुगेपछि परिक्रमका तिर्थालहरु हरेक वर्ष होली मनाउने परम्परा छन् । कञ्चनवनमा आउने आगन्तुकलाई स्थायिले अबिर दलेर स्वागत गरेका छन् । कञ्चनवनमा परिक्रमा गर्नेलाई स्वागत गर्न र होली उत्सव बनाउन भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको सुन्दर सदनका महन्थ नवलकिशोर शरणले बताए । वसन्त पञ्चमीदेखि नै होलीको सुरुवात हुने गरेको मान्यता रहेपनि मिथिलाञ्चलमा कञ्चनवनको होलीपछि औपचारिक रुपमा सुरुवात हुन्छ ।
जनकपुरबाट सुरु भएको मिथिला मध्यमा परिक्रमा सीमावर्ती भारतको कलना, गिरिजास्थानका साथै महोत्तरीको मठिहानी, जलेश्वर, मडैय, ध्रुवकुण्ड हुँदै कञ्चनवन आइपुगेको हो ।
महोत्तरीको ध्रुवकुण्डमा बुधबार राति बास बसेका उनीहरु बिहीबार कञ्चनवन आइपुगेका थिए । परिक्रमामा सहभागी तीर्थालुहरुको अनुहार र कपडा रंगले रंगिएको थियो । हरेक वर्षझैं कञ्चनवनमा परिक्रमा पुग्नुअघि नै होलीको तयारी गरिएको थियो । धनुषास्थित कचुरी मठबाट मिथिला बिहारी कुटीबाट मिथिला बिहारी तथा जनकपुरको अग्नी कुण्डबाट किशोरीजीको डोलासहित जनकपुरबाट सुरु भएको परिक्रमाका फागु पूर्णिमाको दिन जनकपुरको अन्तरगृह परिक्रमा गरेर १५ दिने धार्मिक यात्रा सम्पन्न हुने छ । अन्तरगृह परिक्रमाको भोलिपल्ट मात्रै मिथिलामा होली मनाउने परम्परा रहेको छ ।










