दुःख हरण : तराई–मधेसको भोजको दृष्य अवलोकन गर्दै


१५ माघ । म एक कुनामा उभिएर तराई–मधेसको भोजको दृष्य अवलोकन गर्दै थिएँ । त्यत्तिकैमा मेरो कानमा बालरुवाइको आवाज ठोक्किन आइपुग्यो । भोजमा सबै बालबालिकाहरू खुसी छन्, रुनेचाहिँ को रहेछ भनेर म यताउता फर्केर हेर्न थालेँ ।

नजिकै एउटा दृश्य देखियो— उत्तर–दक्षिण लम्केको डगरको पश्चिमी किनारमा एउटा परालको झुप्रो उभिएको थियो । त्यसकै आँगनमा एक वृद्ध घोसेमुन्टो लगाएर खडा थिए । उनको हातको बुढीऔँला समाएर एक बालक रूँदै आफूलाई पनि भोजमा सामेल गर्न अनुनय–विनय गर्दै भन्दै थियो, ‘नाना, हमहुँ भोज खाइल जेबै । हमर साथी सुकुनीयोके ओकर बाबा बोइकके लगेलै । हमरो जल्दी लचल्नँ ।

‘हजुरबा, मलाई पनि भोज खुवाउन लग्नुस् न’ भनेर बालकले गरेको बिन्तीभाउले मेरो मनलाई तानेको थियो । वृद्ध बच्चालाई फकाउने प्रयास गरिरहेका थिए । बच्चाकी आमा भने अर्कोतिर फर्केर बाबियोको डोरी बाट्दै थिइन् । छोराको जिद्दी बढ्दै गएकोमा उनको चिन्ता थपिएको थियो ।

उनी केही बोल्न सकिरहेकी थिइनन् । वृद्धले कुर्ताको गोजीबाट चकलेट निकालेर हातमा दिए र जिद्दी नगर्न भन्दै थपे, ‘बौबा, जिद नै कर । हमर–तोहर भोज नही छियै । दोसरसभके भोज छियै ।’

मुखमा चकलेट छउन्जेल बालक चुप रह्यो । चपाइसकेपछि फेरि जिद्दी गर्न थाल्यो । वृद्धलाई सकस पर्‍यो । उनी बच्चालाई कसैगरी सम्झाउन सकिरहेका थिएनन् । बच्चामाथि हात उज्याएर तर्साउन पनि चाहिरहेका थिएनन् । सायद बच्चाको मन अझ रूवाउन चाहँदैनथे । त्यसैले छानामाथि केही घुसारेको छ कि भनी नियाल्न थाले ।

त्यहाँबाट पूरै घामजून देखियो । र, ठाउँको ठाउँ टुक्रुक्क बसेर कन्पारोमा हात लगाए । केही बेरपछि जमिन केर्न थाले ।

म भोज भनेपछि निम्ता पाउनासाथ पुगिहाल्थेँ । मान्छेहरूको चालढाल नियाल्थेँ । भोजमा चाम्रो पेट लिएर मान्छे आउँथे । खान बसेपछि हावा भरिएको भकुन्डोजस्तो पेट बनाएर उठ्थे । यसमा उनीहरूलाई भन्दा मलाई बढी आनन्द लाग्थ्यो । अझ भोजपछिका उनीहरूका संवाद रसिला हुन्थे । सुन्न र त्यो खुसी टिप्ने मन ममा हुन्थ्यो । थरीथरी मानिसका अनेक थरी समस्या । सुनेर, बुझेर मलाई सामाजिक क्षेत्रमा काम गर्न स्रोत मिल्दथ्यो ।

भोजको दिन भोजस्थलमा पुगियो । भोजमा इलाकाभरिकै गाउँलेहरू आएका थिए । अलिक टाढाबाट हेर्दा भोजस्थल कुनै मेलाजस्तो प्रतीत हुन्थ्यो । बस्नका लागि दरी ओछ्याउनेहरू ओछ्याउँदा थिए । पानी ओसार्ने ओसार्दा थिए । भोजन तयार भएको जानकारीका लागि माइकिङ भइरहेको थियो । हातहातमा लोहोटा लिएर बूढापाका मानिसहरू एक लाइनमा बसेका थिए । अर्को लाइनमा ससाना बालबच्चाहरू थिए ।

कण्ठा बाहुन, वैष्णवहरू र अन्य साँकठहरूको समूह अलग्गै थियो । पछि बनेको लाइनमा भने बालक, किशोर र वृद्धहरू मिसिएर बसेका थिए । गाउँका दलित भनिएका पनि बेग्लाबेग्लै समूह बनाएर बसेका थिए । उरन्ठेउला किशोरहरूको समूह भने बेग्लै थियो ।

यसरी भोजमा सामेल हुनेहरूको भिड बढ्दो थियो । काम गर्नेहरूलाई भ्याइ नभ्याइ थियो । रमिता हेर्नेहरू कम्मरमा हात लगाएर हेर्दो थिए ।

भोजघरनजिकैको बच्चो सामेल नभएको पाउँदा म छक्क परेको थिएँ । हेर्दाहेर्दै र सुन्दासुन्दै अनायास मेरा गोडा त्यस झुपडीतर्फ लम्किए । म बच्चाको हात समाउन पुगेछु । वृद्ध वाल्ल परेर हेरिरहे । उनकी अधबैँसे छोरी पनि छक्क परेकी थिइन् । बच्चो रुन छोडेर ठूलो आसले मेरो अनुहार हेर्न थाल्यो ।

केही बेर कोही बोलेनौँ । वातावरणमा एक किसिममको सन्नाटा छायो । मैले नै भनेँ, ‘बाजे, तपैँ किन भोजमा नजानुभा’को रु आफूले नखाए पनि बच्चालाई त खुवाउनुस् । बच्चाको मनलाई मार्नु हुन्न । चाहिँदो इच्छा आकांक्षालाई सम्बोधन गर्नुपर्छ । तब त हामी अभिभावक, नत्र केको अभिभावक रु’

मेरा कुरा सुनिरहे मात्र । वृद्धले कुनै जवाफ फर्काएनन् । मानिसहरू भोजमा पतरी बाँडिरहेका थिए । बालकका साथीहरू भोज खानलाई आउन इसारा गरिरहेका थिए । मैले बालकलाई डोहोर्‍याउँदै भने, ‘म पनि अभिभावक नै हुँ । हिँड बाबु, म तिमीलाई भोज खुवाउँछु । आनन्दले खाएर आऊ !

उसका साथीहरूसँगै लगेर बसाइदिएँ । पतरी समेत दिलाइदिएँ । र, खाएर घर आउन अह्राउँदै वृद्धकहाँ पुगेँ । उनी गहभरि आँसु पारेर बसेका रहेछन् । म पुनः पुग्नासाथ उनी फिस्स हाँसे, तर केही बोलेनन् ।

म नै अघि सरेँ, ‘बाजे, अघि सोधेको मेरो प्रश्नले जवाफ पाएन त १ तपाईं अनगिन्ती पीर–व्यथा च्यापेर बसिरहनुभएजस्तै लाग्यो । केही त बोल्नुस् । मन खोल्दा पनि मन हलुको हुन्छ । मनमा कुरा पकाइरहे आफैँलाई सम्हाल्न गाह्रो हुन्छ । मनोरोगी भइन्छ र चाँडै चिताको बाटो देखिन्छ ।

उनी मेरा कुरा ध्यान लगाएर सुन्थे, तर आफू बोल्न भनेपछि पैसा पर्छजस्तो गर्थे । मैले नानाथरीका कुरा भनेर उकासेँ । ढुंगो बोल्ला, तर वृद्ध बोलेनन् । अघि बालकसँग बोल्दाखेरि आवाज त सुनेकै हो । अहिले मैले जति घच्घच्याउँदा पनि उनी नबोल्दा रिस उठ्यो । र, उठेर हिँड्न डगरमा निस्किएँ ।

बालक जुठै हात दगुर्दै आयो । आमाचाहिँले हात धोइदिइन् । बालकलाई काखमा राख्दै वृद्धले हँसिलो मुहार बनाएर भोज कस्तो लाग्यो भन्ने जान्नका लागि सोधे, ‘बौवा, खेलही त १ केहेन लागलो भोज ?

यसो भनिरहँदा उनको अनुहारमा अर्कै चमक थियो । खुसीसाथ बालक काखमा बसेपछि उनले मलाई बस्ने पिरा दिन अह्राउँदै छोरीसँग भने, ‘दाईगे, मेहेमानके बजाके बैठकी देही न । गफ करबै । बाहरमे खडा छौ ।

नभन्दै छोरी मकहाँ आइन् । उनले बोल्न नपाउँदै म स्वविवेकले चुपचाप गएर वृद्धनजिक पिरा तानेर बसेँ । यसपटक पनि वृद्ध मुस्कुराए, तर एक शब्द पनि चुहाएनन् ।

केही बेरपछि मैले नै मुख खोलेँ, ‘हैन बाजे, तपाईं कस्तो मान्छे १ गफ गर्न बोलाउनुहुन्छ, तर एक शब्द पनि चुहाउनु हुन्न । कि मलाई कतैबाट आएको फटाहा सम्झनुभएको १ म त पल्लो गाउँको ठिटो हुँ । प्रायः सदरमुकामतिरै रहन्छु । त्यसैले मलाई नचिन्नु भएको होला । यहाँ सुशीलकहाँ भोज खान आएको हुँ । म मान्छेलाई पीडा थप्न होइन, मान्छेको पीडा कम गर्दै हिँड्ने मान्छे हुँ । म तपाईंको पीडा बुझेर खिल्ली उडाउन आएको हैन । समाजलाई खबरदारी गर्ने खुराक मिल्छ कि भनेर भलाकुसारी गर्न आएको ।

उनी हेरिरहे । म भन्दै गएँ, ‘विश्वास गर्नुस् बाजे, मबाट आफ्ना बाबु–हजुरबाजस्ता मान्छेको अन्तस्करण चिमोट्ने काम कदापि हुन्न । नबोले नबोल्नुस् । आइन्दा आसचाहिँ नदेखाउनुस् । यी पैलेका मान्छे, अहिलेका मान्छेलाई विश्वासै गर्दैनन् । र, पो समस्या बढ्दो छ । आफ्नो जिद्दीमा अडिरहन्छन् । र, पो समाजमा कहिल्यै परिवर्तन आउँदैन । आफ्नो मात्रै मनोकांक्षाकोे कदर होस् भन्ठान्छन् । र, पो समाज पनि एकलकाँटे बन्दै छ ।

म उठ्न खोजेँ । वृद्धले हात समाएर बसाए । र, भने, ‘म जयलालको घरमा चिया पिउन सक्छौ ?

‘किन नसक्नु, भातै खुवाए पनि खान्छु । घरभित्रै पस् भने पनि खुसीसाथ पस्छु ।’ मैले पनि तत्कालै जवाफ फर्काएँ ।

कुरैकुरामा चिया आयो । म चियाको चुस्की लिन थालेँ । वृद्ध भट्याउन थाले, ‘के कुरा गर्नु बाबु, तिमी त मेरी छोरीको उमेरका रहेछौ । दुःख–पीडा, अभाव र दरिद्रताको मेलोमेसो नै थाहा पाएका छैनौ क्यारे । हामी बूढापुस्ता अलिक बांगा छौँ । हत्तपत्त आफ्नो दुःख बिसाउन चाहँदैनौँ । आफ्नो दुःखले अरू कोही पनि दुःखी नहोऊन् भन्ने ठान्छौँ । फेरि, मेरो दुःख सुनिदिन कोही पनि मेरो दरबाजामा आएको थिएन । तिमीजस्तो जिद्दी गरेर कसैले पनि अडान लिएको थिएन ।’

उनी विस्तार–विस्तारै खुल्दै गए । भन्दै गए, ‘मेरी शर्मिला पाँच वर्षअघि मरी । विचरीले मसँग बिहे गरेर कुकुरले नपाएको दुःख भोगी । बाँचुन्जेल गधाझैँ जोतिई । भेटेका दिन पेटभरि खाई । नभेटेको बेला पानी मात्र पिएर सुती । कहिल्यै कुनै गुनासो गरिन । मसँग बिहे गरेर जीवनमै भुल गरेँ भनेर कहिल्यै पछुताइन् ।

ऊ समाजसँग कठोर थिई । जुझारु प्रवृत्तिकी थिई । कसैको धाक र धम्कीले गल्दिनथी । समाजले घर वरपर बाँसले बारिदिँदा पनि झुकिन । सयौँको संख्यामा गाईमाल ल्याएर दरबाजा टेकाइदिँदा पनि यो ठाउँ छाडिन । अज्ञात मानिसहरू आएर घर जलाउन खोज्दा खुकुरी लिएर छोपी । कहिल्यै डरले खुट्टा कँपाइन । बरु, आँसु पिएर बाँची, तर एक घैला पानी देऊ न भनेर कसैकहाँ हात फैलाइन ।’

बोल्दाबोल्दै वृद्धले गहभरि आँसु पारे । उता मुन्टो फर्काएर मैले नदेख्ने गरी आँसु पुछे । र, मनलाई स्थिर बनाएर मतिर फर्के ।

भने, ‘के सुन्छौ बाबु, मसँग भन्ने कुरा नै के छ र १ तिमीहरू आजका युवाले पाठ सिक्ने कुरा नै के होला र १ मन खोल्न खोजे भक्कानिन्छ । शर्मिलाले थेगेको पीडाको पहाडले अहिले म स्वयं थिचिएको छु । ऊ छउन्जेल मैले कुनै दुःख गर्नु परेन । दिनभरि परको गाउँमा पस्यो, घरेलु कामकाज गर्दियो । पाएको बनी ल्याएर उसकै जिम्मा लगायो । खोलामा गएर कुवा खन्यो । त्यहीँको पानीले काम चलायो । यस्तै थियो त्यस बेला । अहिले पनि उस्तै छ ।’

म छक्क परिरहेको थिएँ । प्रश्न सोध्न सकिरहेको थिइनँ । उनी धाराप्रवाह भट्याउँदै गए, ‘हामीले अन्तरजातीय विवाह गरयौँ भनेर हाम्रै आँगनमा प्रगन्नाको बैठक बस्यो । दण्डस्वरूप हामीले प्रगन्नाभित्रका सबै जातजातिलाई प्रगन्नामा भोज खुवाउनुपर्ने भयो । त्यत्तिले पनि नपुगेर समाजलाई सात हजार नगद दण्ड तिर्नुपर्ने भयो ।’

म सुनिरहेँ, वृद्ध बोलिरहे, ‘म केही पनि बोल्न सकिरहेको थिइनँ । सभामा ऊ नै अघि सरेर भन्न थाली, ‘ए समाजका भद्रभलाद्मी, म हात जोडेर बिन्ती गर्छु । हामीलाई आर्थिक दण्ड नदिइयोस् । म छुत मानिएकी शर्मिला र ऊ अछुत मानिएको जयलालले बिहे गरेर समाजमा पुरस्कार पाउने काम गरेका छौँ । हामीलाई पुरस्कार नदिए पनि सडकछाप न बनाइदिनुस् । यत्रा सारालाई भोज खुवाउँदाखुवाउँदै र सात हजार नगद दण्ड तिर्दातिर्दै जयलालले पाउने अंश पनि सिद्धिन्छ । अनि, हामी न घरका हुन्छौँ न घाटका नै रहन्छाँै । तसर्थ, फेरि पनि बिन्ती बिसाउँछु, हामीलाई यत्तिमै छाडीदिनुस् । गरी खान दिनुस् । हामीलाई पनि समाजको एउटा अंश ठानिदिनुस् ।’

वृद्धका गफ सकिएका थिएनन्, ‘मैथिल समाजमा पुरुषहरूको सभामा आएर नारीले आफ्ना कुरा राख्नु आफैँमा एउटा अपूर्व कदम थियो । शर्मिलाका कुरा मन पराउने मान्छेहरू न्यून भए । विपक्षमा बहुमत भयो । तिनै विपक्षीमध्ये अँगारमुखे बूढो कुर्लियो, ‘ए शर्मिला, तिमी नारी भएर पुरुष सभामा ठूलो आवाजमा बोलेको सुहाएन । गल्ती गरेपछि समाजले जे भन्छ, अक्षरशः पालना गर्नु तिमीहरूको कर्तव्य हुन आउँछ ।’

अरू सुनिरहे । अँगारमुखे बूढो भन्दै गयो, ‘समाजले जे तोक्यो, तोक्यो । अपराधको तुलनामा एकदमै न्यूनतम दण्ड तोकेको छ । जोईपोइ मिलेर चाँडो काम सुरु गर । तिमीहरूको कल्याण यसैमा छ । नत्र समाजले तिमीहरूलाई बहिष्कार गर्छ । गाउँमा बस्न त के गाउँमा पस्नसमेत मनाही गर्न सक्छ । समाजका हरेक गतिविधि र सुविधाबाट सदाका लागि वञ्चित गर्न सक्छ । समाजको सदस्य हैन, समाजको दुश्मन ठान्न सक्छ ।’

सुनाउँदासुनाउँदै वृद्ध रातापिरा भए । तर, बोल्न छाडेनन्, ‘म नै अघि सरेँ । म बाध्यताको भोज खुवाएर समाजमा कुसंस्कृतिलाई मलजल गर्न चाहन्नँ । अशोभनीय आर्थिक दण्ड तिरेर भावी पिँढीको गद्दार बन्न सक्तिनँ । बरु, शारीरिक श्रम गर्ने खालको दण्ड दिनुस् । बाटो खन्न, चौतारो बनाउन वा त्यस्तै प्रकृतिका सार्वजनिक काममा दलाउनुस् । बरु, त्यस्ता काममा निःशुल्क खट्न तयार छु । तर, आफ्नो अन्तस्करणलाई लात हानेर अराजक नीतिसामु घुँडा टेक्न राजी छैन ।’

वृद्धले अनुहारमा हात पुर्याए, दुवै आँखा मिचे । र, भने, ‘मेरा कुरा मानेनन् । शर्मिलाका कुरामा पनि बहस गरेनन् । एकैछिनमा निर्णय सुनाए– जयलाल र शर्मिलाले अन्तरजातीय विवाह गरेर समाजका नीति–नियम कुल्चने काम गरे । समाजले तोकेको सजाय लत्याएर उल्टै आफ्नो मनोकांक्षा लाद्ने प्रयत्न गरे । तसर्थ, यी दुवै नवदम्पतीलाई आजका मितिदेखि लागु हुने गरी समाजका हरेक गतिविधि र सुविधाबाट वन्चित गरी गाउँ निकाला गरिने निर्णय सर्वसम्मतिले पारित गरियो । निजहरूलाई पुर्ख्यौली सम्पत्तिबाट बेदखल गर्न जयलालका पिता हरेलाललाई यो समाज आदेश दिन्छ । समाजका कुनै सदस्यले पनि निजहरूलाई सहयोग गरे उसको पनि तत्कालै पत्ता काट गरिने व्यहोरा सरोकार वर्गलाई सूचित गरिन्छ ।’

उनको बोली बन्द भएन, ‘हेर बाबु, हामी आफ्नै परिवार र समाजका हरेक सुविधाबाट वञ्चित भयौँ । सबैले हामीलाई असहयोग गरे । यहाँसम्म कि दोकानमा हाम्रो पैसा पनि चलेन । खानेपानी लिन खोला धाउनुपर्यो । दिसापिसाब फेर्न एक कोस टाढाको सरकारी जंगल पुग्नुपर्यो । कसैको खेत टेक्न पाइएन । डगर किनाराको ऐलानीमा झुप्रो उभ्याउनुपर्यो । काम गर्न पाँच कोस टाढाको गाउँ पुग्नुपर्यो । मर्दापर्दा गुहार गर्दा पनि सुनिदिने कोही भएनन् । सिर्फ एक्लो, फगत एक्लो भएर रहनुपर्यो ।’

म अगस्त्य मुनिलेजस्तो ध्यानवपूर्वक सुनिरहेँ । उनी कुमारजीजस्तो आफ्नो विगतको बेलिविस्तार लगाइरहेका थिए । भन्दै रहे, ‘छोरी जन्मी । धेरैपछि छोरो जन्मियो । उनीहरूलाई पनि समाजका अरू केटाकेटीसँग खेल्न, दौडनबाट वञ्चित गरियो । स्कुल पढ्न पनि दिइएन । छोरीलाई घरमै कखरा सिकाएँ । छोरालाई भने विराटनगर लगेर अक्षर पाठशालामा बोर्डिङमा राखिदिएँ । कहिलेकाहीँ भेट्न जान्छु । यो अपराधी समाजको हावाले पनि मेरो छोरालाई नछोओस् भनेर तन काटेर खर्च व्यहोरिरहेको छु । उसैले एक दिन यस समाजलाई पाठ पढाउला भनी आस गरिरहेको छु ।

‘शर्मिलाको निधन कसरी भयो रु कसैले सहयोग गरेनन् रु’ मैले जान्न चाहेँ ।

उनले अनुहार बिगारेर भने, ‘शर्मिलाको साँझपख प्राण गयो । गाउँलेहरूसँग हारगुहार मागेँ । रातभरि चिच्याएँ, रोएँ, कराएँ । गाउँलेहरूले थाहा पाए, तर सहयोग गर्न र सान्त्वना दिन पनि कोही आएनन् । भोलिपल्ट आँगनमा लासलाई गुन्द्रीले छोपेर त्यत्तिकै छाडी मलामी जान गाउँलेहरूलाई घरघर गएर हकार दिएँ । पाँच घण्टा पर्खेँ, तर कोही आएनन् । एक्लै काँधमा लास बोकेँ । हातमा कोदालो पक्रिएँ । र, खोलामा लगेर रुँदै गाडेर आएँ ।’

उनका कुरा सकिएका थिएनन्, ‘घरमा आइपुग्दा शून्य थियो, ह्वांगै थियो । भित्र भुस्याहा कुकुरको रजाइँ थियो । भएकी एउटी छोरीको पनि दश कोस टाढा बिहे भएको थियो । त्यस बेला ऊ आफ्नै घरमा थिई । उसलाई खबर दिन आफैँ जानुपर्थ्यो । जान सकिनँ । अन्तिम घडीमा आमाको मुख पनि देखाउन नसकेकोमा पछुतो भइरह्यो ।’

उनले चेतावनी दिँदै भने, ‘हेर बाबु, मैले मनपेट दिएँ । म अझै गाउँको घेराबन्दीभित्र थुनिएको छु । मैले नातिलाई भोज खुवाएको हुँदो हुँ त गाउँलेहरूको लात भेट्ने थिएँ । नैतिकता बेचेर म लुच्चो बन्न कदापि चाहन्नँ । मेरो दुखेसोलाई आधार बनाएर कसैले खिल्ली उडाएको सुन्न पनि चाहन्नँ । समाजमा पशुको दर्जा छ । तिनै अत्याचार लाद्नेहरू मेरा अगाडि जम्ला हात गरेर खडा भएको हेरेर मर्ने मन छ ।’

वृद्धले कुरो सके र म उठेँ । गह्रौँ मन बनाएर भोजै नखाई घरतिर फर्कन लागेँ । बाटामा सुशीलसँग जम्काभेट भयो । उसले मलाई रोक्दै भन्यो, ‘तपाईं त जयलालका घरमा निकै बेर अलमलिएर खाली पेटै हिँड्न लाग्नुभयो त रु जयलालकै पाहुनाजस्तो पो हुनुभयो त १ जाऔँ, खान बसौँ ।’

मैले खान मन नभएको जनाउ दिए । उसले कर गरिरह्यो । म हिँड्न खोज्दा हात समाउन आइपुग्यो । एक्कासि सोध्न पुगेँछु, ‘केका लागि भोज गरेको ?

‘पितृको उद्धारका लागि सन्तानको कर्तव्य पूरा गरेको । पुण्य कमाउन सभाभोज गरेको १’ उसले जवाफ दिएर मलाई सन्तुष्ट पार्न खोज्यो ।

मैले तत्कालै अर्को प्रश्न राखेँ, ‘हामी कोसौँकोस टाढाका मान्छेलाई चाहिँ तपाईंहरू बोलाएर एक छाक खुवाउँदा पुण्य कमाएको महसुस गर्ने, नजिकैको छिमेकी जयलाललाई चाहिँ पच्चीस वर्षदेखि मर्नु न बाँच्नु पार्ने रु उसका घरका अबोध बच्चालाई रुवाएर सभाभोजको नाटक मञ्चन गरी पुण्य आर्जनको सस्तो ढोँग रचेको मलाई मन परेन ।’

‘त्यो दलित हो । त्यसले अपराध गरेको थियो । र, सजाय पाएको हो । समाजले गरेको बन्देजलाई मैले पनि स्वीकार गर्नैपर्यो । त्यसमा तपाईं मन नदुखाउनुस् । म चाहेर पनि जयरामलाई भोजमा सामेल गराउन कदापि सक्दिनँ । एउटाको कारण यत्रो भोज बिगार्न सक्दिनँ । यो प्रसंगलाई यहीँ बिट मारौँ । तपाईंको मनमा चोट लागेकोमा क्षमा माग्छु । कृपया अब खाना खान जाऔँ ।’

मैले प्याच्च भनिदिएँ, ‘कोही कति दिन भोकै छ, त्यसलाई खुवाए पो पुण्य आर्जन हुन्छ त । हामी पुगीसरी आएकालाई खुवाएर कहाँ पितृ खुसी हुन्छन् र १ अबोध बच्चाको मन खुसी तुल्याउन सके पो उनीहरूको मुहारको हाँसो देखेर इष्टदेव पनि प्रसन्न हुन्छन् त १ तसर्थ, सामाजिक निषेधको रेखा कोर्ने कुनै भोज मैले खानु छैन । कृपया जिद्दी नगर्नुहोस् ।’

सुशीलले निकै बेर गम खायो । र, डराएको मन बनाउँदै मेरो काननजिक आफ्नो मुख लगेर भन्यो, ‘हजुरले भनेका कुरा ठिक हुन् । म कसैले थाहा नपाउने गरी खानेकुरा जयलालकहाँ पुर्याइदिन्छु । ऊ घरमै सपरिवार खान्छ, हुन्न ?

म केही बोलिनँ । मात्र मुन्टो हल्लाएर स्वीकारोक्ति जनाएँ । ऊ गयो । म भने नजिकैको फलैंचामा बसेर मानिसहरूको आवतजावत हेरिरहेँ । कसैसित बोल्ने मन भएन । खालि मन जयलालको पीडा वरपर नै अल्झीरह्यो ।

निकै बेरपछि सुशील मकहाँ आयो र सुस्तरी भन्यो, ‘सुरुमा त जयलालले खानेकुरा लिनै मानेन । उल्टै रिसायो । खिल्ली उडाउन आएको भनेर मेरै बेइज्जत गर्ने कुरा बतायो । मैले तपाईंसँग भएका सारा कुरा बताएपछि अलिक मत्थर भयो । तर, खानेकुरा लिनचाहिँ इन्कार गरिरह्यो । म साह्रै अप्ठ्योरामा परेँ । खाना फर्काएर ल्याउन पनि सक्तिनथेँ । उसले कराए र अरूले थाहा पाए मसमेत समाजबाट बहिष्कृत हुनुपर्थ्यो । केही बेरपछि हात जोडेर भनेँ— जयराम, मेरो इज्जत बचाई दे । म तँसँग माफी माग्छु । मबाट तँलाई अप्रत्यक्ष सहयोग रहनेछ । पहिले पनि तँमाथि गरिएको समाजको अभद्र व्यवहार मलाई मन परेको थिएन । अब मेरा आँखा खुलिसकेका छन् । खानेकुरा स्वीकार गरेर मलाई पुण्यको भागी बना । म फेरि बिन्ती गर्छु ।

सुशील भन्दै गयो, ‘उसले मानेकै थिएन । उसकी छोरीले मान्न दबाब दिई । आमासँग लागेर नातिले पनि मान्न भन्यो । ऊ बाध्य भयो । त्यही मौकामा मैले समाजको अंकुश खुकुलो पार्न आफ्नोतर्फबाट दबाब दिने कुरा सुनेपछि उसले प्रशन्न भएर स्वस्कार गर्यो । र, भन्यो– मलाई तपाईंका कुरामा विश्वास छ । हाम्रो अनुकूल समय पनि एक दिन अवश्य आउँछ ।’

त्यसपछि सुशीलले भोजमा बस्न आग्रह गर्यो । मैले हात जोडेर भने, ‘माफ गर्नुस्, मैले मृतभोज खान छाडेको बाह्र वर्ष भइसक्यो । म आएँ, हेरेँ, तपाईंसँग आफ्ना कुरा राखेँ । मेरा विचारबाट प्रभावित भई जयलालकहाँ पुग्नुभयो । उसको आर्तनाद गरिरहेको मनलाई सम्बोधन गरी मलहम लगाइदिनुभयो ।

ऊ छक्क परेर मुख बाइरह्यो । म भन्दै गएँ, ‘मेरा कुरा मान्नुभयो । म आभारी छु । तपाईंका कुरा कुल्चन पुगेँ, क्षमा गर्नुस् । हैन, खानैपर्छ भनेर अडान लिनुहुन्छ र बाह्र वर्षदेखिको मेरो वाचा तोड्नुहुन्छ भने भन्नुस् । म हितैषीको चित्त बुझाउन मुन्टै अर्पण गर्न पनि तयार छु ।’

मेरा कुरा सुनेर उसले ‘पर्दैन, पर्दैन’ भनेर हात र मुन्टो एकसाथ हल्लायो । मेरो मन ढक्क फुलेर आयो । उसले ‘किन भोज नखाने बाचा गरेको रु’ भनेर सोधेजस्तो लाग्यो ।

म नै अघि सरेँ, ‘मान्छे मर्दा दुःखको अनुभव हुन्छ । भोज भनेको उत्सवको प्रतिफल हो । मान्छे मर्नु र त्यसकै उपलक्ष्यमा भोज खानु÷खुवाउनु मिल्दो कुरा होइन । हामी नेपालीहरूको आर्थिक हैसियत कमजोर छ । भोज गर्दा ऋण लाग्छ । शोकले पीडितलाई ऋण बोकाउनु किमार्थ उचित होइन । तसर्थ, कसैले पनि मृतभोजको आयोजना नगरून्, ऋणको भारी बोकेर अझ पीडित नबनून् । र, मृतभोज गर्न प्रोत्साहित नहोऊन् भनेरै नखाने निर्णय गरेको हुँ ।

सुशील अझै बोल्न सकेको थिएन । म नरूकी भन्दै गएँ, ‘मान्छेलाई नखुवाई पुण्य आर्जन हुँदैन भन्ने लाग्छ भने पितृकै नामबाट वृद्धालय, अनाथालय वा त्यस्तै सामाजिक संघ–संस्थालाई सकेको दान गर्दा राम्रो हुन्छ । कुनै सामाजिक कार्यमा लगानी गरे अझ उत्तम हुन्छ ।’

सुशीलले नबोलीकनै मलाई बिदा गर्यो । पेट भोको भए पनि जयलालले राहत भेटेको र सुशीलको मन फर्केकोमा मेरो मन असाध्यै खुसी भयो ।

लस्याङफस्याङ गर्दागर्दै साँझमा मात्र आफ्नै घरमा तात्तातो भात खान पाइयो ।

चार वर्षकै उमेरदेखि जयलालको छोरो प्रकाश पितृमातृ सुखबाट टाढिँदै गएको थियो । घरमा आमाबाबु थिए, तापनि ऊ टुहुरोजस्तो थियो । यदाकदा बाबु भेट्न जान्थे । मुस्किलले दुई–अढाई घण्टा रहन्थे । फेरि अलप भइहाल्थे । आमासँग भेट्न त उसले चाडबाड नै कुर्नुपर्थ्यो ।

उसले विद्यालयको वातावरणमा नेपाली र अंग्रेजी राम्ररी सिक्यो । गर्भदेखि सिक्न सुरु गरेको मैथिली भाषा अल्पअल्प मात्र जान्दथ्यो । आफ्नो मैथिल वेशभूषा, रहनसहन र कला–संस्कृतिबारे बिलकुलै अनविज्ञ थियो ।

अझ आफ्नो परिवारलाई समाजले कुन आँखाले हेर्छ भन्नेबारे उसलाई थाहै थिएन । न परिवारको पर्याप्त ममता पाएको थियो न मैथिल समाजमै समायोजित हुने अवसर भेटेको थियो । उसले केही मात्रामा पश्चिमी रहनसहन सिकेको थियो । किताबमा पढेको र स्कुलले दिएको आधारले उसले धेरथोर नेपाली मातृभाषीहरूको संस्कार र संस्कृति भने जान्ने अवसर भेटेको थियो ।

ऊ लेखपढमा अब्बल थियो । समस्या खुलस्त राख्थ्यो । अनुभूत गरेका समस्याहरू आफैँ समाधान गर्ने भरमग्दुर प्रयास गर्थ्यो । समाधान नभए सहकर्मी साथीहरूको सहयोग लिन्थ्यो । तिनीहरूबाट पनि समाधान हुन सकेन भने मात्र शिक्षककहाँ राख्थ्यो । उसको यस्तो बानीबाट शिक्षकहरू समेत प्रभावित थिए ।

ऊ हरेक कक्षामा टपटेनभित्रै पर्थ्यो । एसएलसी परीक्षा मात्रै नभई कक्षा–११ को परीक्षामा समेत विशिष्ट श्रेणी नै ल्याएको थियो । उसको गाउँ र छेउछाउको गाउँबाट पनि त्यहाँ पढ्न आएका विद्यार्थी धेरै थिए । उनीहरूबीच एकापसमा राम्रो हेलमेल थियो ।

ती सबै विद्यार्थीमध्ये अँगारमुखे बूढाको छोरो महानन्द सबैको लिडर थियो । ऊ अछुत वर्गमा पर्थ्यो । यद्यपि, सामाजिक, सांस्कृतिक र जातीय भेदभावको सख्त विरोधी थियो । ऊ छुत र अछुतको गहिरो खाडल नयाँ पुस्ताले पुर्न सक्नुपर्छ भन्ने विचार राख्थ्यो । उसलाई समेत आफ्नो समाजको रहनसहनबारे उत्तिसाह्रो जानकारी थिएन ।

जिल्ला शिक्षा समन्वय इकाइको आयोजनामा अक्षर पाठशालामा अन्तरमावि वक्तृत्वकला प्रतियोगिता हुने भयो । शीर्षक थियो– दलितका समस्या र निराकरणका उपायहरू ।

प्रतियोगितामा जिल्लाभरिका ३२ जना प्रतियोगीले भाग लिएका थिए । अक्षर पाठशालाका तर्फबाट प्रकाश र महानन्दले पनि भाग लिने सौभाग्य पाएका थिए । प्रतियोगिता सुरु भयो ।

आफूले पढे र सुनेअनुसार दलितका समस्या औँल्याउँदै आफ्नो वक्तृत्वका क्रममा महानन्दले भन्यो, ‘मेरो विचारमा जातीय विभेद, दलित–दलित र गैरदलितबीच छुवाछुत, सामाजिक, धार्मिक र सांंस्कृतिक समस्या, भूमिको समस्या, आर्थिक समस्या, सामाजिक कुरीति र अन्धविश्वासको जरो फैलनु । यी मैले देखेका दलितका समस्या हुन् ।’

समस्या हटाउने उपायबारे उसले अगाडि भन्यो, ‘बेटी पढाऊ, बेटी बचाऊ अभियान, सामाजिक संघ–संस्थाको सहभोज र सहकार्य कार्यक्रम सञ्चालन, सार्वजनिक वस्तु तथा सेवा उपभोगमा दलित स्वयंको अग्रसरता, अन्तरजातीय विवाहलाई प्रोत्साहन, जातीय पेसालाई सामूहिक पेसामा रूपान्तरण, विभेद न्यूनीकरणका लागि कडा कानुनी व्यवस्था आदि ।’

वक्तव्य राख्ने क्रममा प्रकाश र महानन्दको गाउँको नामै किटेर पश्चिम नेपालतिरको एक वक्ताको कथन थियो, ‘।।।नपत्याए कसैलाई सोध्नुस्, अखबारमा पनि आएको कुरा हो । जयलालको परिवारले पीडा भोगिरहेछ । ऊ दलित भएकै कारण समाजबाट २५ वर्षदेखि सम्पूर्ण रूपले बहिष्कृत छ । त्यस गाउँमा आवाज उठाउने र संविधानप्रदत्त हक स्थापित गर्ने सोच भएको कोही जन्मेकै छैन । जन्मेको हुँदो हो त २५र२५ वर्षसम्म गरिएको अमानवीय कर्मविरुद्ध विद्रोहको मसाल सल्काइसक्थ्यो ।’

उसको कुराले धेरैको ताली पायो । तर, प्रकाश र महानन्दलगायत त्यस गाउँसँग सम्बन्धित विद्यार्थीहरूको शिर निहुरियो । कार्यक्रम समाप्त हुनासाथ एक कुनामा उनीहरूको सानोतिनो अनौपचारिक छलफलको कार्यक्रम सुरु भयो ।

महानन्दले भन्यो, ‘साथीहरू हो, हाम्रो गाउँको त बदनामी भयो त यत्रो मञ्चमा पनि आयो । राष्ट्रिय अखबारमा पनि आएको थियो रे कुरा के हो रु कि बदनाम भएकै गाउँका युवा भनेर चिनिरहने रु’

लाम्घारे ठिटो अघि सर्यो, ‘अन्याय गर्ने र अन्याय सहने दुवैलाई मचाहिँ घृणा गर्छु । यद्यपि, निरीह भई अन्याय सहने प्रकाशका पिता जयलालप्रति म नतमस्तक छु ।’

प्रकाशको पिता भन्नासाथ सबै विद्यार्थी छक्क परेर प्रकाशतिर फर्किए । प्रकाशले भन्यो, ‘घरपरिवारको कुरा मलाई केही थाहा छैन । बुझ्नेले नै प्रष्ट पार्दा बेस हुन्थ्यो ।’

लाम्घारे नै अघि सर्यो, ‘मलाई सबै थाहा छ । पीडित नायक र पीडक खलनायक दुवै परिवारका होसियार युवा हामी यहीँ छौँ । यहाँ हामीमा कुनै जातीय भेदभाव छैन । गाउँमा पानी बाराबार, काटामारामार छ, हामी बेखबर छौँ । हाम्रो हातमा देशको भविष्य छ रे १ हामी नै अनविज्ञ र असक्षम भएपछि समाजका बेथितिलाई कसले बढार्ने रु’

‘मननीय कुराहरू आए । हामी गाउँलेहरू मात्र यहाँ छौँ । खुलस्त कुरा राखौँ । निष्कर्ष निकालौँ । र, समाधानको बाटोतर्फ लम्कौँ । यो पीडित नायक र पीडक खलनायक भनेको चाहिँ के रु’

महानन्दको प्रश्नको जवाफमा पुन्टे ठिटोले भन्यो, ‘२५ वर्षदेखि समाजको शत्रु ठान्नेमध्येका मुख्य कट्टर पञ्च तिम्रै पिता अँगारमुखेलाई पीडक खलनायक भनेको हो । त्यस अत्याचारविरूद्ध एक शब्द पनि अन्यत्र असन्तोष प्रकट नगरी चुपचाप सहने प्रकाशका पिता जयलाललाई पीडित नायक भनेको होला १’

सबैले खाँटी कुरा बुझे । र, दसैँको बिदा मनाउने क्रममा सबैजना गाउँमा भएको बेला अभिभावकहरूसँग जातीय भेदभाव, छुवाछुत, अन्धविश्वास आदिबारे अन्तरक्रिया गर्ने, गाउँघरको तत्कालीन वस्तुस्थिति बुझ्ने, चेतनामूलक कुरा गरी चेतना फैलाउने । यत्ति गर्दा पनि बूढापाकाहरू पग्लेनन् र परिवर्तन हुन चाहेनन् भने हदैसम्मको काम गर्नुपरे पनि गर्न खुट्टा नकमाउने । अन्तमा अभिभावकहरूसँग सम्बन्धविच्छेद गरी भेदभावरहित नयाँ समाज निर्माण गर्ने सहमतिमा पुगेर छलफल समाप्त भयो ।

बिदाको बेला गाउँमा पुगेर उनीहरूले ‘अभिभावकहरूसँग युवा पिँढीको अन्तरक्रिया’ नामक कार्यक्रम राखे । त्यसमा जयलालसहित सबै गाउँलेहरू डाकिए । युवाहरूको इच्छा र अपेक्षाविरुद्ध कसैले जाने आँट गरेनन् । युवाहरूको मुखबाट नेपालको संविधान र अन्य कानुनले समेत भेदभाव र अन्यायपूर्ण कार्य दण्डनीय छ भन्ने व्यवस्था रहेको सुनेपछि अन्ततः जातीय भेदभावका कट्टर समर्थकहरूले समेत मौन सहमति जनाए ।

साथै, सबै गाउँलेले जयलालको परिवारलाई लगाएको बन्देज सदाका लागि अन्त्य गर्ने, ऊसँग क्षमायाचनाका साथ मेलमिलापको हात बढाउने, उसको सम्मान कार्यक्रको आयोजना गर्ने, सबैले साथसाथमा सहभोज गर्ने साथै सबैले सकेको आर्थिक÷भौतिक सहयोग गरी जयलालको घर निर्माण गरिदिने र उसलाई समाजमा पुनःस्थापित हुन सहयोग पुर्याउने भनी सर्वसम्मतिले निर्णय गरे ।

भोलिपल्ट आयोजना गरिएको ‘मेलमिलाप, सम्मान र सहयोग कार्यक्रम’को अन्त्यतिर जयलालले मन्तव्य राख्दै भने, ‘समाजका प्रतिष्ठित गण्यमान्य महानुभावहरू साथै समाज सिंगार्ने जोस–जाँगर बोकेका युवाहरू, आफ्नो आँगनमा खुसी फर्किएकोमा विशेषतः सारा युवाहरूको ऋणी छु । शर्मिला र मैले देखेको सपना साकार हुन २५ वर्ष लाग्यो । उसले परिवर्तनका यी दृश्य हेर्नै पाइन । दुर्भाग्य १ सधैँ आफूले विष पिई रही र हाम्रो परिवारका लागि अमृत ओकली रही । आज नाकाबन्दी खुलेको यस घडीमा ऊ कत्ति खुसी हुन्थी १ शब्दमा वर्णन गर्न असमर्थ छु । सारा गाउँलेहरूले मप्रति देखाएको सदाशयतापूर्ण व्यवहारले म अनुगृहीत भएको छु । सधैँ–सधैँ यस्तै साथ र सहयोगको अपेक्षासहित मेरा कुरालाई विश्राम दिन्छु ।’

ताली बजिरह्यो । उनी आँसु पुछ्दै मञ्चबाट बाहिरिए । कुरा बुझ्ने दर्शकहरूको समेत आँखा आँसुले भरियो । त्यो दुःखको नभई खुसीको आँसु थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको