राजनीति के हो र राजनीति कसका लागि ?


सागर पण्डित । राजनीति कसका लागि गरिन्छ ? यसको सोझो उत्तर छ–जनताका लागि । तर, नेपालमा अहिले त्यस्तो उत्तर दिइयो भने त्यो पूर्णतः गलत साबित हुने गरेको छ । नेताले त्यस्तो जवाफ दिएमा त्यो कसैले पनि नपत्याउने अवस्था छ । अहिले हाम्रा नेताहरू जनताको नजरमा दिन प्रतिदिन गिर्दै गइरहेका छन् ।

हिजोका दिनमा बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, गणेशमान सिह, कृष्णप्रसाद भट्टराईहरूले राजनीति गर्दा कसैले पनि उनीहरूलाई कसका लागि राजनीति गर्दै हुनुहुन्छ भनेर सोध्ने हिम्मत गर्दैनथे । कसैले सोधे हाले भने पनि उनीहरू गौरवका साथ आफूले देश र जनताका लागि राजनीति गरेको जवाफ दिन्थे । आमजनताले इन्कार गर्न सक्दैनथे ।

किनकि उनीहरूको राजनीति र जीवन जनताको हितमा समर्पित थियो । तर, अहिले हामीले त्यस्ता नेता खासै पाउन सकेका छैनांै । यो हाम्रा लागि निकै दुर्भाग्यको कुरा हो । जननेता मदन भण्डारीले त राजनीतिमा थकाइ भन्ने शव्दाबली नै हँुदैन भन्ने अभिव्यक्ति दिँदै आफूलाई पूर्णरूपमा असल राजनीतिक व्यक्तित्वका रूपमा स्थापित गराएका थिए ।

जब राजनीतिक दल र तिनका नेताहरूले जनताको चाहना र हितअनुसार काम गर्न सक्दैनन् त्यतिखेर उनीहरू जनताबाट बहिस्कृत हुन पुग्छन् । दल तथा नेताहरू सच्चिएनन् भने जनताले उनीहरूकै कारण शासकीय व्यवस्थाको विकल्पबारे समेत सोच्न बाध्य हुने गर्छन् ।
हिजो पञ्चायत व्यवस्था जनताकै हितविपरीत जाँदा पतन भएको थियो । राजाहरूले जनताको चाहना बुझ्न नसक्दा सयौं वर्षसम्म रहँदै आएको राजतन्त्र नै समाप्त भएको ताजा उदाहरण हामीसँगै छ । त्यसैले कसैले पनि जनमतको अपमान गर्ने धृष्टता गर्नुहँुदैन । जनताको के कस्ता चाहना, इच्छा र आवश्यकता छ भन्नेबारे नेताहरू जहिले पनि चिन्तित भएर जनताका सबै खाले समस्या समाधान गर्न रातदिन खटिन सक्नुपर्छ । हिजो जनताकै बलमा राजतन्त्र फालिएको हो र जनताकै बलबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरिएको हो ।
अहिले संघ, प्रदेश र स्थानीय सरकारमार्फत जनताको सेवा गर्ने लक्ष्य राखिएको भए पनि ती सबै सरकार जनताको साटो आआफ्ना नेताहरूको व्यवस्थापन गर्ने कार्यमा नै लिप्त रहेको पाइएको छ । पदमा बसेकाहरूले पदीय दायित्व र भूमिकाविपरीत कागज मिलाएर आफूनिकटका कार्यकर्ता तथा आफन्तहरूको व्यवस्थापन गरिरहेका छन् । जनताको कुनै मतलव छैन । यस्तै, अवस्था लामो समयसम्म रहिरह्यो भने त्यसले मुलुकमा ठूलै अनिष्ट निम्त्याउने निश्चित छ । राजनीतिक दल र नेताहरूको यस प्रकारको बेइमानीपूर्ण कार्यले आमजनतामा राजनीतिक अलगावको अवस्था पैदा हुन्छ र जनता विद्रोहमा उत्रन सक्ने खतरा रहन्छ । यसतर्फ सबै दल र नेताहरू सतर्क हुन जरुरी छ ।

त्यसैले नेताज्यूहरू, अब त साँच्चै नै सच्चिनुपर्छ ताकि आगामी दिनमा राजनीति कसका लागि भनी प्रश्न गर्दा तपाईंहरूले जनताका लागि भनी दिएको जवाफले आफैंलाई व्यंग्य नगरोस् ।

अहिले आस्वाभाविक रूपमा महँगी बढिरहेको छ । जनताको ढाड सेक्नेगरी महँगी वृद्धि हँुदा पनि सरकारी निकाय मूकदर्शक बनिरेहका छन् । यसले गर्दा आमजनतालाई मुलुकमा सरकार नै नभएको जस्तो अनुभूति भइरहेको छ । अर्कोतर्फ विकासका कुनै पनि अभियान सञ्चालन हुन सकेका छैनन् । अहिले त मुलुकले पहिलोपटक बजेट होलिडको अवस्था भोग्नुपर्ने बाध्यता सिर्जना भएको छ । अहिले देखिएको यो संकटले सरकारलाई निकै कठिन यात्रातर्फ धकेलिरहेको देखिन्छ । आखिर यो अवस्था किन आयो रु सत्तापक्ष र प्रतिपक्ष दुवैका गलत क्रियाकलापका कारण यस्तो दुःखद् अवस्था आइपरेको हो ।

यदि यो सरकार वास्तविक रूपमा मुलुक र जनताको हितका लागि बनेको हो भने यसले जनताको मन मनमा बस्न सक्ने गरी विकास अभियान सञ्चालन गर्न सक्नुपर्छ र जनताले राज्यबाट पाउने सेवा प्रभावकारी रूपमा पाउन सक्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ ।

सरकार र राजनीतिक दलका सबैभन्दा ठुलो शक्ति भनेकै जनता हुन् । आवधिक निर्वाचनमार्फत जनताले नै सरकारको छनोटसमेत गर्ने गर्छन् ।

पछिल्ला समयमा राजनीतिक दलका नेता तथा उनीहरूका कार्यकर्ताहरूमा कुनै पनि विषयमा ठण्डा दिमागले सोच्ने र विश्लेषण गर्ने प्रवृत्ति ह्रास हुँदै गइरहेको छ । नकारात्मक सोच र विश्लेषणका पछाडि दौडिने प्रवृत्ति पनि खतरनाक रूपमा अघि बढिरहेको छ । जसका कारण जनतामा आशा होइन निराशाका बीज रोपिन थालेका छन् । जनतामा निराशा बढ्नु भनेको पक्कै पनि राम्रो होइन । त्यसैले जनतामा आशा जगाउनुपर्छ ।
तर जनतामा आशा जगाउने कार्यको नेतृत्व सरकारले नै गर्नुपर्छ । यदि सरकारले साँच्चै नै जनतामा आशा जगाउने हो भने जनताले गास, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र प्रविधिको प्रयोग निर्बाध र सुलभ किसिमले गर्न पाउनुपर्छ । आफ्ना नागरिकको आधारभूत आवश्यकताको पूर्ति गर्ने प्रमुख दायित्व सरकारकै हो ।

सरकारले जनताको मन जित्ने प्रमुख उपाय भनेकै जनकेन्द्रित शासन प्रणाली र सुशासनयुक्त व्यवहार हो । सरकारले हरपल आमजनतामा आशाका किरण छर्न सक्नुपर्छ । सरकारका सबै उच्च पदस्थ बिचौलिया र माफियाको ग्याङबाट पूर्णरूपमा टाढा रहन सक्नुपर्छ । सिहदरबारको सामन्ती सोच र प्रवृत्तिलाई त्यागी जनताको सोच र भावनासँग आफूलाई एकाकार बनाउन सक्नुपर्छ । प्रधानमन्त्रीज्यू, विकट गाउँबस्तीमा रहेका दूरदराजका गाउँलेदेखि सहरबजारमा बस्ने सबै नागरिकका लागि बिरामी हुनासाथ सरकारी अस्पतालबाटै सहज सेवा र औषधि पाउने व्यवस्था गरिदिनुभयो भने तपाईंलाई जनताले सधैं सम्झिरहनेछन् ।

प्रधानमन्त्रीज्यू, विकट गाउँबस्तीमा रहेका दूरदराजका गाउँलेदेखि सहर बजारमा बस्ने सबै नागरिकका लागि बिरामी हुनासाथ सरकारी अस्पतालबाटै सहज सेवा र औषधि पाउने व्यवस्था गरिदिनुभयो भने तपार्ईंंलाई जनताले सधैं सम्झिरहनेछन्

अहिले पनि गरिब विपन्न बिरामी हँुदा पैसा र भरपर्दो उपचारको अभावमा अकालमा मर्नु परिरहेको दुःखद अवस्था छ । त्यस्तो अवस्था आउन नदिन सरकार र सत्तारूढ दलहरू संवेदनशील बन्नुपर्छ ।

अहिले धेरै स्थानीय तहले राम्ररी काम गर्न सकिरहेका छैनन् । कयांै जनप्रतिनिधि कुशासनको चक्र चलाउन व्यस्त छन् । त्यस्ता, जनप्रनिधिहरूलाई राजनीतिक दलले पार्टीको अनुशासन र भ्रष्टचारमा शून्य सहनशीलताको नीतिमा बाँध्न सक्नुपर्छ । संघ, प्रदेश र स्थानीय तहमा भ्रष्टाचारी विरोधी अभियान थाल्न ढिलाइ गर्नुहँुदैन । भ्रष्टचारीलाई सामाजिक रूपमा नै बहिष्कार गर्ने खालका नीतिलाई व्यवहारमा उतार्न सक्नुपर्छ ।

सुशासन कायम गर्नु र सुधार गर्नु धेरै कठिन कार्य हो । तर, प्रधानमन्त्रीलगायतका शासन सञ्चालन गर्नेहरूमा दृढ आत्मविश्वास, इमानदारिता र नैतिकता हुने हो भने सुशासन कायम गर्दै मुलुकलाई विकासमा अघि बढाउने कार्य असहज छैन ।

अब दल नेता र सरकारले आफैंभित्रका भ्रष्टाचारीलाई पनि कडा कारबाही गर्ने पद्धतिको विकास गर्न सक्नुपर्छ ।

विशेषगरी सत्तामा रहेका दल र तिनका नेता यदि कर्मवीर बन्ने हो भने उनीहरूले हिजोको दिनमा चुनावी घोषणापत्रमा गरेको प्रतिबद्धताअनुरूप समाजवाद स्थापनाको आधार खडा गर्न सक्नुपर्छ । यसको सत्तारूढ दलले स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापक सुधार गरेर समाजवाद स्थापनाको आधार तय गर्नुपर्छ । सरकारी स्वास्थ्य संस्था र सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै सबै नागरिकलाई स्वास्थ्य र शिक्षामा सहज पहुँच सिर्जना गर्न सक्ने हो भने मुलुकले समृद्धिको नयाँ मार्ग समेट्ने निश्चित छ । यसका लागि राजनीतिक दल र नेताहरू आमूल रूपमा सच्चिन जरुरी छ । त्यसैले नेताज्यूहरू अब त साँच्चै नै सच्चिनुपर्छ ताकि आगामी दिनमा राजनीति कसका लागि भनी प्रश्न गर्दा तपाईंहरूले जनताका लागि भनी दिएको जवाफले आफैंलाई व्यंग्य नगरोस् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको