१२ भदौ,काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहान ८: ४५ बजेदेखि शुक्रबार बिहानसम्म पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तु तथा नवलपुरमा अत्यधिक वर्षा भएको छ । नवलपरासीको बतासामा २४ घण्टामा ४३४।२ मिलिमिटर वर्षा मापन भएको छ । यो वर्षा यस वर्ष मापन गरिएको दैनिक वर्षामै सबभन्दा बढी हो ।
विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार बतासा केन्द्रमा १० मिनेटमा २१ मिमिसम्म वर्षा भएको छ । १ मिनेटमा १ मिमि वर्षा हुँदा पनि भल बग्छ । ‘थोरै समयमा धेरै वर्षा भयो भने बाढी, पहिरो र डुबानको सम्भावना बढी हुन्छ,’ उनले भनिन्, ‘६० मिमि एक घण्टामा पर्नु र १२ वा ६ घण्टामा ६० मिमि वर्षा हुनुमा एक घण्टावालाले जित्छ, घातक पनि हुन्छ ।’
मौसमविद् कँडेलका अनुसार त्यति मात्रामा वर्षा भए पहाडी क्षेत्रमा भलबाढीको सम्भावना हुन्छ भने समथर भागमा डुबान भइहाल्छ । यस वर्षमा भारी वर्षाकै कारण सिन्धुपाल्चोक, गोरखा र मनाङमा भलबाढीका कारण ठूलो क्षति भएको छ ।
यो वर्षको मनसुनमा २४ घण्टामा काठमाडौं ९एयरपोर्ट० मा सबभन्दा बढी ९१।४ मिमिसम्म वर्षा भएको छ । असार २७ ९११ जुलाई० मा त्यति वर्षा भएको हो । असार १९ मा ६६ मिमि र ३० मा ५७।३ मिमि वर्षा भएको थियो । अहिलेसम्म काठमाडौंमा २४ घण्टामा १७७ मिमिसम्म वर्षा भएको रेकर्ड छ । सन् २००२ को जुलाई २३ मा त्यति वर्षा भएको थियो ।
२४ घण्टामा १५० मिमि वर्षाको सम्भावना भएमा विभागले त्यो क्षेत्रका लागि सतर्कताको सूचना जारी गर्छ । अध्ययनले कुनै ठाउँमा २४ घण्टामा १५० मिमि वर्षा भएमा त्यो क्षेत्रमा पहिरोको सम्भावना अत्यधिक हुने देखाएको छ । यो धेरै वटा पहिरोहरूलाई नमुना मानेर गरिएको अध्ययनको निष्कर्ष हो ।
बिहीबार र शुक्रबार नवलपरासी पूर्व र नवलपरासी पश्चिम, रूपन्देही र कपिलवस्तुमा भएको वर्षा अत्यधिक हो । केही वर्षअघि यस्तै भारी वर्षापछिको बाढी र पहिरोले सुर्खेत र बर्दियामा ठूलो धनजनको क्षति गरेको थियो । विभागका अनुसार बिहीबारदेखि शुक्रबारसम्म नवलपरासी पश्चिमको सेमरीमा ३८१ मिमि, कपिलवस्तुको वाणगंगामा ३५०।६ मिमि वर्षा मापन भएको छ । बिहीबार दिउँसो वाणगंगामा १ घण्टामा ११२ मिमिसम्म वर्षा भएको छ । ६० मिमिभन्दा बढी वर्षा भयो भने भारी वर्षा मानिन्छ, त्यस्तो बेलामा पहिरोको सम्भावना अत्यधिक हुन्छ । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारमा ३०२ मिमि वर्षा भएको छ ।
समथरमा भागका लागि त्यो वर्षा धेरै हो । त्यति वर्षा थेग्न सक्ने खालको संरचना हामीकहाँ छैन । शुक्रबारको नवलपरासीको डुबानले पनि त्यसको पुष्टि गर्छ । यो पटकको वर्षाले बाँध, पुलजस्ता संरचनासमेत भत्काएको छ । शुक्रबार नै नवलपरासी पूर्वको डेडगाउँमा १६२।६ डन्डा बजारमा २७०।६ र दुम्कौलीमा २२२ मिमि वर्षा मापन भएको छ ।
यस्तै, भैरहवामा २२१।२, रूपन्देहीको सूर्यपूरामा २०१।४, भैरहवा विमानस्थलमा १६५।२ र चितवनको देवघाटमा १५५।५ मिमि वर्षा रेकर्ड भएको छ । शुक्रबार राति प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।



















