छठ पर्व र विज्ञान


शिव जयसवाल । छठ पर्व नेपालको तराई-मधेशसहित भारतको बिहार र उत्तर प्रदेशमा विशेष श्रद्धा र उल्लासका साथ विशेष गरि कार्तिक महिनामा र चैत्र महिनामा  वर्षमा दुई पटक चार दिनसम्म मनाईन्छ। पहिलो दिन नहाय-खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ। यी परम्परामा स्वच्छता, अनुशासन, सामूहिक सहभागिता र प्रकृतिप्रतिको सम्मानको सन्देश निहित छ। छठ पर्व धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्रकृतिप्रतिको सम्मानको अनुपम सङ्गम हो। सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वमा अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ।उपवास व्रत, पवित्रता, ठेकुवा, फलफूलको प्रयोग र जलाशयको सरसफाइ यसका प्रमुख विशेषता हुन्। परम्परागत रूपमा धार्मिक महत्त्व बोकेको छठ पर्वलाई विज्ञानको दृष्टिकोणबाट पनि बुझ्न सकिन्छ।पहिला नेपाल र भारतमा मात्र मनाईने छठ पर्व, आजकाल नेपाल, भारत सहित विश्वको प्रमुख शहरहरु लन्डन, न्यूयोर्क, वासिङ्टन डिसि, बर्लिन, पैरिस, दुवै, टोकियो लगायतको शहरमा समेत धुमधामको साथ मनाईन्छ।यसले यो पर्वको वैज्ञानिक तथा धार्मिक महत्त्वलाई दर्शाउछ। यो पर्व मनाउन सुरुवात कसरी भयो भ्न्ने विभिन्न  किंवदन्ती  रहरेको देखिन्छ। किंवदन्ती अनुसार, भगवान् राम र माता सीता वनवासबाट फर्किएपछि सूर्यदेवको पूजा गरी अर्घ्य दिएका थिए। यस परम्परालाई छठ पर्वसँग जोडेर हेरिन्छ।महाभारतसँग सम्बन्धित किंवदन्तीमा महाभारतमा कुन्तीपुत्र कर्ण सूर्यदेवका परम भक्त थिए। उनी नियमित रूपमा सूर्यको उपासना गर्थे। यस कथालाई छठमा गरिने सूर्य पूजासँग जोडिन्छ। यद्यपि, यी कथाहरू परम्परागत धार्मिक मान्यतामा आधारित छन्। छठ पर्वको ऐतिहासिक उत्पत्ति यिनै घटनाबाट भएको हो भन्ने कुरा निश्चित रूपमा प्रमाणित छैन। छ्ठको सुरुवात जसरी भएपनि यो एउटा वैज्ञानिक पर्व हो भन्ने विषयमा कसैको विमती देखिदैन। यसमा पुजा गरिने हरेक कुरा र विषयहरू वैज्ञानिक, यथार्थ र तथ्यमा अधारित देखिन्छ। छ्ठ पुजा मुख्य गरि सूर्यको अर्घ्य दिई मनाईन्छ।साथै छ्ठमा, नदि, तलाउ, पानी, पोखरी, कृषि उपज, रसायन, वातावरणको सरसफाइ, स्वास्थ, योग, जस्ता पक्षहरुलाई अधार मानी पुजा गरिनुको साथै सामाजिक एकता मार्फत सामाजिक विज्ञानको महत्त्वलाई समेत दर्शाउछ। छ्ठ र विज्ञानको भिविन्न शाखाहरु बिचको अन्तर सम्बन्ध रहेको छ ।

छ्ठ र जीव विज्ञान

पृथ्वीमा जीवन सम्भव हुनुमा सूर्यको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। सूर्यबाट प्राप्त प्रकाश र तापले पृथ्वीको तापक्रम, जलचक्र, मौसम तथा जीवहरूको जीवन प्रक्रियालाई प्रभावित गर्छ। जीव विज्ञानका दृष्टिले सूर्यको सबैभन्दा महत्त्वपूर्ण योगदानमध्ये एक प्रकाश संश्लेषण हो।हरित वनस्पतिमा रहेको क्लोरोफिलले सूर्यको प्रकाशबाट ऊर्जा ग्रहण गर्छ। यस ऊर्जाको सहायताले वनस्पतिले पानी र कार्बन डाइअक्साइडबाट कार्बोहाइड्रेट उत्पादन गर्ने प्रक्रिया प्रकाश संश्लेषण हो। यस क्रममा अक्सिजन पनि निस्कन्छ। यही प्रक्रियाले खाद्य शृङ्खलाको आधार तयार गर्नुका साथै वायुमण्डलमा अक्सिजनको उपलब्धतामा योगदान पुर्‍याउँछ। त्यसैले सूर्यलाई जीवनको आधार मान्नुको वैज्ञानिक कारण पनि छ।छठ पर्वमा नदी, पोखरी, वनस्पति र प्राकृतिक वातावरणको महत्त्व स्पष्ट देखिन्छ।नदी तथा पोखरीमा माछा, सूक्ष्मजीव, जलीय वनस्पति र अन्य जीवहरूको जीवन एकअर्कासँग सम्बन्धित हुन्छ। जल प्रदूषण, प्लास्टिक र पूजासामग्रीको अनुचित विसर्जनले यस पारिस्थितिक प्रणालीमा नकारात्मक असर पार्न सक्छ। त्यसैले वातावरणमैत्री तरिकाले मनाईने यो पर्व  जैविक विविधता संरक्षणसँग सम्बन्धित छ।

छ्ठ र रसायन विज्ञान

रसायन विज्ञानले पदार्थको संरचना, गुण, सङ्घटन र तिनमा हुने परिवर्तनको अध्ययन गर्छ। छठ पर्वमा प्रयोग गरिने फलफूल, प्रसाद, उखु तथा पानीलाई रसायन विज्ञानको दृष्टिकोणबाट बुझ्न सकिन्छ। छठमा चढाइने फलफूलमा भिटामिन, खनिज लवण, कार्बोहाइड्रेट, पानी तथा विभिन्न जैविक यौगिक हुन्छन्। उदाहरणका लागि, सुन्तलामा भिटामिन C, केरामा पोटासियम र उखुमा मुख्यत: सुक्रोज नामक चिनी पाइन्छ।त्यस्तै, ठेकुवा त्यार सखर र चिनीको तापीय परिवर्तन, प्रोटिन र चिनीबीच हुने माइलार्ड प्रतिक्रिया तथा अन्य तापीय रासायनिक प्रक्रियाले यसको रङ, स्वाद र सुगन्ध विकास गर्न मद्दत गर्द छ। छठमा बनाइने ठेकुवा पनि रासायनिक परिवर्तनको उदाहरण हो। गहुँको पिठो र चिनी वा सख्खरको मिश्रणलाई ताप दिँदा यसको रङ, स्वाद र सुगन्धमा परिवर्तन आउँछ। यस क्रममा माइलार्ड प्रतिक्रिया लगायत तापका कारण हुने रासायनिक परिवर्तनले भूमिका खेल्न सक्छन्। यसरी परम्परागत परिकारको निर्माणलाई दैनिक जीवनमा देखिने रसायन विज्ञानसँग जोड्न सकिन्छ।त्यसैगरी, छठ पर्वमा प्रयोग हुने पानीको रासायनिक संरचना H₂O हो। नदी, पोखरी तथा अन्य जलस्रोतमा पानीसँगै घुलित अक्सिजन, खनिज लवण, जैविक पदार्थ र अन्य तत्त्व पनि पाइन्छन् ।

छ्ठ र भौतिक विज्ञान

छठ र भौतिक विजान बिच गरिहो सम्बन्ध रहेको छ। भौतिक विज्ञानको केन्द्र बिन्दु नै सूर्य हो, त्यही सूर्यलाई साँझ अस्ताउने  बेलाको सूर्यलाई अर्घ्य दिई छ्ठको मुख्य पुजा आरम्भ हुन्छ र भोलि पल्ट  बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिए पछि  छठ पर्व समापन्न हुन्छ। यसरी छठको सम्बन्ध सौर्य प्रणाली सङ रहेको देखिन्छ। छठ पर्वमा सूर्योदय र सूर्यास्तको समयमा सूर्यलाई अर्घ्य दिने परम्पराले मानिसलाई सूर्यको नियमित चक्रसँग जोड्छ। यसको धार्मिक अर्थ आस्थासँग सम्बन्धित छ भने सूर्यको प्रकाश र पृथ्वीमा जीवनबीचको सम्बन्ध विज्ञानले व्याख्या गर्छ।

छ्ठ र कृषि विज्ञान

छ्ठ कृषि विज्ञानको प्रतिक हो भन्दा केही फरक न पर्ला किनभने छ्ठमा आफ्नै खेतवारीमा फल्ने कृषि उपजहरु केरा, अदुवा, कागती, नरिवल, सुन्तला, मूला, स्याउ, गहुको पिठो,माटो जस्ता कृषि उपजको प्रयोग गरि पूजाको सामग्रीहरु त्यार गरिन्छ । यसले कृषि विजानको महत्त्वलाई दर्शाउछ र कृषि कार्यको सम्मान गर्नु पर्छ तथा खाली जमिनको भरपुर प्रयोग गर्नु पर्छ भन्ने सन्देश दिन्छ।

छ्ठ र  प्राकृतिक विज्ञान तथा वातावरण विज्ञान

छ्ठ पर्वको पूजा खुला ठाउँ, नदि किनार, तलाउँको छेउ, चउर, खेतबारी जस्ता खुला आकाश मुनि पानीको मुहान भएको ठाउँमा सरफाई गरि गरिन्छ ।अहिलेको सन्दर्भमा बढदो जल सङ्कट तथा जलवायू परिवर्तनले पारेको प्रभाव यो पर्वले दिने सन्देश अनुशरण गर्न योग्य छ। हामिले प्रकृतिलाई संरक्षण गर्नुपर्छ तथा पानीको मुहान जोगाउनु पर्छ भन्ने स्पष्ट सन्देश यो पर्वको रहेको देखिन्छ। यो पर्व मनाउने खुला ठाउँलाई सरसफाइ गरि त्यार पारिन्छ तथा फोहोरहरु राम्रो संग व्यवस्थापन गरिन्छ।  यसले वातावरणलाई स्वच्छ तथा सफा राखेमा पृथ्वी को भविस्य जोगाउन सकिन्छ भन्ने सन्देश दिएको देखिन्छ।

छ्ठ र योग विज्ञान

छ्ठ एउटा यस्तो पर्व हो योग को विशेष स्थान हुन्छ। यस पर्वमा मानिसहरू दण्ड खिचदै  घर बाट छठ घाट सम्म जान्छ्न जुन एक प्रकारको कसरत जस्तै हो यसले शरिलाई क्षणिक कष्ट दिए पनि शरीरको मांसपेशीहरुलाई बलियो बनाउछ। यसरी छ्ठ पर्वले परापूर्वकाल बाटै योगको महिमालाई बढाएको देखिन्छ।हाल योग स्वास्थको लागि महत्वपूर्ण साबित भइसकेको छ।

छठ र स्वास्थ विज्ञान

छठ पर्वमा गरिने कठिन व्रतको पनि आफ्नै शारीरिक र मानसिक वैज्ञानिक महत्व छ। कात्तिक महिनामा मौसम परिवर्तन भइरहेको हुन्छ-गर्मी सकिएर चिसो सुरु हुने समय हुन्छ। यस्तो संक्रमणकालीन समयमा मानिसको पाचन प्रणाली र प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ। छठका व्रतालुहरूले गर्ने ३६ घण्टाभन्दा लामो निर्जला (पानी पनि नपिई गरिने) व्रतले शरीरलाई ‘डिटक्सिफाई’ (विषाक्त तत्वहरू बाहिर निकाल्ने) गर्न मद्दत गर्छ। यसले शरीरको आन्तरिक प्रणालीलाई सफा र सन्तुलित बनाउँछ। साथै छठमा  ४ दिन सम्म नै शुद्ध शाकाहारी  घरमा पाकेको परिकारहरु मात्र खाने चलन छ ।भने व्रतालुहरु १ महिना सम्म् कार्तिक महिना भरी नै शाकाहारी खाना मात्र खाने गर्दछन । यसबाट खानपिनको नियन्त्रणले शरीर स्वस्थ राख्न सकिन्छ भने शिक्षा प्राप्त गर्न सकिन्छ।

छ्ठ र सामाजिक विज्ञान

छठ पर्वलाई सामाजिक विज्ञानको दृष्टिकोणबाट हेर्दा यसले समाजको सांस्कृतिक पहिचान, सामाजिक एकता, सहकार्य र सामूहिक जिम्मेवारीलाई अभिव्यक्त गर्छ। यस पर्वमा परिवार तथा समुदायका सदस्यहरू एकजुट भएर पूजा गर्ने, घाटको सरसफाइ गर्ने र पूजाका सामग्रीको व्यवस्थापन गर्ने गर्छन्। यस्ता क्रियाकलापले सामाजिक सद्भाव, सहयोग र सामूहिक भावनालाई बलियो बनाउन मद्दत गर्छन्। त्यसैले छठ पर्व सामाजिक एकता, सहिष्णुता, सामाजिक सद्भावना एवम लैङ्गकि समानताको प्रतिक हो। छठ पर्व एकल  भन्दा सामुहिक रुपमा मनाईने पर्व हो।जहा व्रतालुहरु पण्डाल( टेण्ट)  मुनि गाउँका विभिन्न जातीहरु एउटै समूहमा बसेर मनाउने गर्दछन । यो पर्वको मुख्य पूजा गर्ने व्यक्ति परिवारको वरिष्ठ महिला सदस्य हुन्छ्न। यसले हाम्रो जस्तो पुरुष प्रधान मुलुकमा महिला अधिकार एवम लैङ्गकि समानता बारे गहिरो सन्देश दिन्छ। छठ मनाउन पण्डाल बनाउने देखि लिएर, बैठक स्थल सजाउने, सरसफाई गर्न समाजका मानिसहरु एक जुट भएर काम गर्छ्न। छठ पर्वमा  ईस्लाम धर्मावलम्बीहरु समेत सहभागी हुने गरेको देखिन्छ।यो पर्वले, पवित्रता, असल आचरणको र नैतिकताको पालना गरी सामाजिक नियमको पालनामा समेत जोड दिन्छ।

आजकाल छ्ठको मौलिक स्वरुपलाई बिगारेको पाईन्छ ।यसमा प्रयोग गरिने सामग्रीहरु आफ्नै खेतबारीको प्रयोग हुँदै आएकोमा आजकाल शहर बजार बाट किन्ने प्रचल बढेको देखिन्छ। साथै छ्ठ घाट सजाउने पहिला गाउँमा मानिसहरू आ-आफ्नै मौलिक तरिकाले  गर्ने तर आजकाल भाँडाको टेण्ट  लिने प्रचलन अधिक भएको छ। यसले छठको मौलिकता हराउने देखिन्छ, त्यसैले यसका लागि बैलेमा सतर्क हुन जरुरी छ र नव यूवाहरुलाई छ्ठको महत्त्व बुझाउनमा चुक्नु हुदैन ।

छठको सामाजिक महत्त्वलाई अझ व्यापक बनाउन धार्मिक श्रद्धासँगै वैज्ञानिक सोच, स्वच्छता, जल संरक्षण र वातावरणीय जिम्मेवारीलाई पनि जोड्नुपर्छ। परम्पराको सम्मान गर्दै प्रमाणमा आधारित ज्ञान ग्रहण गर्ने संस्कार विकास गर्नु आजको आवश्यकता हो। यसरी छठ पर्वलाई आस्था र वैज्ञानिक चेतनाबीच संवाद स्थापित गर्ने, प्रकृतिप्रतिको जिम्मेवारी बढाउने र भावी पुस्तामा वातावरण संरक्षणको भावना विकास गर्ने अवसरका रूपमा लिन सकिन्छ। वास्तवमा बदलिँदो परिवेशमा छठ पर्वको महत्त्व र सान्दर्भिकता निकै छ । यसले दिने वैज्ञानिक सन्देश अनुरण योग्य छ। छठ पर्वको भावलाई व्यक्तिले आफनो जीवनमा लागू गर्न सकेमा स्वस्थ, खुसी,  शान्तिपूर्ण,  पवित्र, अनुशासित जिवन विताउन सक्छ । छठले दिने सन्देश समाजले मनन्न गर्ने बेला आएको छ। जलवायु परिवर्तनको असर रोक्न, वातावरण संरक्षण गर्न, जल संकट कम गर्न, कृषि उपजमा रसायनको प्रयोग कम गर्न  तथा प्रकृति स्रोत साधनको संरक्षण गर्न एवम्  दिगो प्रयोग गर्न  छठ पर्व मनाउदै गर्दा सिक्न जरुरी छ। छठ पर्व को मर्मलाई सामाजमा लागू गर्न सकेमा सामाजिक सहिष्णुता कायम गर्न सकिन्छ। हाम्रा पुर्खाहरूले विज्ञानका यी जटिल नियमहरूलाई धर्म र संस्कृतिको माध्यमबाट सर्वसाधारणको जीवनशैलीसँग निकै सहज ढंगले जोडिदिएका छन्। त्यसैले, छठ पर्वको यो वैज्ञानिक पाटोलाई नयाँ पुस्तामाझ पुर्‍याउनु र यसको पर्यावरणमैत्री स्वरूपलाई बचाइराख्नु आजको आवश्यकता हो। यो नै छठपर्वको वास्तविक पूजा हुनेछ। साथै छठ पर्व नमान्ने  समुदायलाई समेत यो मान्नु पर्छ। किनभने यो एउटा वैज्ञानिक र यथार्थमा अधारित पर्व हो। सूर्यको पुजामा कुनै पनि जातीय, धार्मिक तथा भौगोलिक सिमा हुनु हुदैन।

–  शिव शंकर प्रसाद कलवार (शिव जयसवाल) (प्रशसकीय अधिकृत, नास्ट)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको