महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबास, महोत्तरीका सर्भेक्षक शिवकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले साहविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
जग्गाको ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले साहलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अनुसन्धानका क्रममा साहले घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरिएको हो।
अख्तियारले साहविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना तथा प्रचलित कानुनबमोजिम सजायको मागदाबी गरेको जनाएको छ।












