हरितालिका तीज पर्व आज, व्रत कसरी बस्ने ?


काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका ९तीज० पर्व आज भगवान् शिवको पूजा–आराधना गरी मनाइँदैछ। यस अवसरमा व्रतालु महिलाहरूले शिव–पार्वतीको पूजा, उपासना तथा व्रत गरी पारिवारिक सुख, शान्ति र कल्याणको कामना गर्ने धार्मिक परम्परा छ।

धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले हरितालिका तीजको व्रत गर्न सक्ने भए पनि सामाजिक रूपमा महिलाले श्रीमान्को दीर्घायु तथा पारिवारिक सुख–शान्तिको कामनाका लागि व्रत बस्ने प्रचलन छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा। डा। रामचन्द्र गौतमका अनुसार व्रत बस्ने पुरुषले विधुर हुन नपर्ने, महिलाले अटल सौभाग्य प्राप्त गर्ने तथा अविवाहित पुरुष र महिलाले गुणसम्पन्न जीवनसाथी पाउने धार्मिक विश्वास छ।

तीज पर्वको पौराणिक मान्यता

पौराणिक कथनअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न गौरीघाटमा बसेर कठोर तपस्या गरेकी थिइन्। पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्ना साथीहरूसँग समस्या सुनाइन्।

पार्वतीको समस्या बुझेपछि साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने स्थानमा लुकाएर राखे। त्यही स्थानमा पार्वतीले निराहार व्रत बसी महादेवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ। पार्वतीलाई साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यसै दिनदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको मानिन्छ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर ‘हरितालिका’ शब्द बनेको हो। ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी भन्ने हुन्छ।

व्रत कसरी बस्ने रु

धर्मशास्त्रविद् गौतमका अनुसार तीजको व्रत निराहार, जलाहार र फलाहार गरी तीन प्रकारले बस्न सकिन्छ। स्वास्थ्य र शारीरिक क्षमताअनुसार व्रत बस्नुपर्ने उनको भनाइ छ।

“सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ,” उनले भने।

धर्मशास्त्रीय मान्यताअनुसार ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् आफ्नो शरीर र आत्माको रक्षा गरेर मात्र व्रत बस्नुपर्छ। स्वास्थ्य कमजोर भएका व्यक्तिले गहुँ वा मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलफूल तथा हल्का खानेकुरा खाएर पनि व्रत बस्न सक्ने गौतमले बताए।

महिलाले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गर्दै व्रत बस्ने भएकाले उनीहरू असमर्थ भएका अवस्थामा वा रजस्वला भएका बेला पुरुषले समेत व्रत बस्ने प्रचलन रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

समग्रमा तीजको व्रत मनोकामना पूरा गर्न तथा परिवारको सुख, शान्ति र कल्याणका लागि गरिने धार्मिक अनुष्ठानका रूपमा लिइन्छ। धर्मशास्त्रविद् प्रा। तोयराज नेपालका अनुसार तीजको व्रत हिन्दू महिलाका लागि मात्र नभई सम्पूर्ण मानव समुदायका लागि भएको उल्लेख धर्मशास्त्रीय ग्रन्थहरूमा पाइन्छ।

तीजमा दर खाने परम्परा

तीजको व्रतका लागि पूर्वतयारीस्वरूप व्रतालुहरूले अघिल्लो दिन दर खाने परम्परा छ। विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली र दिदीबहिनीलाई बोलाएर दर खुवाउने चलन छ।

शास्त्रीय मान्यताअनुसार भाद्र शुक्ल द्वितीयाको बेलुकी दुई प्रहर रात हुनुअघि दर खाइसक्नुपर्ने उल्लेख छ। पछिल्लो समय भने तीजका नाममा एक महिनाअघिदेखि नै दर खाने प्रचलन बढ्दै गएको छ।

तीजमा बढ्दो विकृति र तडकभडक

तीज महिलाले वर्षभरि भोगेका दुःख, पीडा र मर्का गीत तथा सांस्कृतिक प्रस्तुतिमार्फत व्यक्त गर्ने पर्वका रूपमा समेत परिचित छ। तर पछिल्लो समय तीजका नाममा देखिने उच्छृङ्खलता, अत्यधिक तडकभडक र अनावश्यक खर्चप्रति संस्कृतिविद् तथा धर्मशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्।

यस्ता गतिविधिले आर्थिक रूपमा कमजोर परिवारलाई निराश बनाउने भएकाले तीजको मौलिकता र सांस्कृतिक महत्व जोगाउँदै विकृति नियन्त्रण गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

तीज पर्व भाद्र शुक्ल तृतीयादेखि ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चतुर्थीका दिन गणेशको पूजा तथा पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुने धार्मिक परम्परा छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको