विश्व पर्यटन दिवसलाई मधेसको पर्यटन प्रवर्द्धन अभियानका रूपमा अघि बढाउने तयारी


मिथलेश सिंह – बर्दिबास। नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेशको आयोजनामा विश्व पर्यटन दिवस २०८३ लाई प्रदेशव्यापी रूपमा प्रभावकारी तथा भव्य रूपमा मनाउने विषयमा विशेष छलफल तथा बैठक सम्पन्न भएको छ।

महासंघका अध्यक्ष हिरा गौतमको अध्यक्षतामा सम्पन्न बैठकमा उद्योग तथा पर्यटन मन्त्रालय, मधेस प्रदेशका सचिव जयकुमार घिमिरे प्रमुख अतिथिका रूपमा तथा महासंघका संरक्षक तथा सल्लाहकार विजय झुनझुनवालाको विशिष्ट आतिथ्यता रहेको थियो।

बैठकमा होटल संघ नेपाल (हान), मधेस प्रदेशका महासचिव दिपेन्द्र पराजुली, नाट्टा मधेस प्रदेशका महासचिव सुदर्शन काफ्लेसहित मधेस प्रदेश सरकारका विभिन्न मन्त्रालयका शाखा अधिकृत, महासंघका पदाधिकारी तथा सदस्य, आठवटै जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधि र होटल तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो।

बैठकमा मधेस प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयबाट प्राप्त हुने आर्थिक सहयोगलाई पारदर्शी तथा नियमानुसार परिचालन गर्ने, उपलब्ध बजेटलाई प्राथमिकताका आधारमा विभिन्न कार्यक्रम तथा क्षेत्रमा उपयोग गर्ने र विश्व पर्यटन दिवसका कार्यक्रमलाई व्यवस्थित तथा प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

त्यसैगरी, हान मधेस प्रदेश तथा नाट्टा मधेस प्रदेशसँग सहकार्य र समन्वय गर्दै पर्यटन दिवसका कार्यक्रम सञ्चालन गर्ने, निजी क्षेत्रको सहभागिता बढाउने तथा मधेस प्रदेशको पर्यटन प्रवर्द्धनलाई साझा अभियानका रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको महासंघले जनाएको छ।

बैठकले विश्व पर्यटन दिवसलाई एकदिने औपचारिक कार्यक्रममा सीमित नगरी मधेस प्रदेशको पर्यटन ब्रान्डिङ, गन्तव्य प्रवर्द्धन तथा पर्यटन बजार विस्तारसँग जोड्ने विषयमा विशेष जोड दिएको छ।

विशेषगरी ‘जनकपुर–मिथिला नगरी’लाई धार्मिक, सांस्कृतिक तथा वैवाहिक पर्यटन (वेडिङ डेस्टिनेसन) को आकर्षक गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने अवधारणालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल भएको छ।

मधेस प्रदेशका विभिन्न पर्यटकीय गन्तव्य, स्थानीय कला–संस्कृति, मौलिक परिकार तथा विशिष्ट आतिथ्यतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकसमक्ष प्रस्तुत गर्ने गरी कार्यक्रमको अवधारणा विकास गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको थियो।

महासंघले सरकार, महासंघ, हान, नाट्टा, जिल्ला तह तथा निजी क्षेत्रबीचको सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै ‘मधेसमा स्वागत छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने गरी विश्व पर्यटन दिवस २०८३ लाई प्रदेशको पर्यटन प्रवर्द्धनको महत्वपूर्ण अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

विश्व पर्यटन दिवसलाई अवसरका रूपमा मात्र नभई मधेस प्रदेशका पर्यटन सम्भावना, गन्तव्य, संस्कृति र आतिथ्यतालाई देश तथा विदेशमा चिनाउने दीर्घकालीन अभियानको प्रारम्भबिन्दु बनाउने लक्ष्य महासंघले लिएको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको