धनुषा। धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी, लेखापाल राधेश्याम राय, खरिदार अरुणकुमार यादव, तत्कालीन सि.अ.हे.व. उमेर साह र तत्कालीन शिक्षा शाखा प्रमुख अनिलकुमार साहुविरुद्ध आरोपपत्र दायर गरिएको छ।
धनौजी गाउँपालिका-गौरदाहादेखि लखौरीसम्म सडक निर्माणसम्बन्धी ठेक्कामा बोलपत्र आह्वान तथा बोलपत्र आशयको सूचना प्रकाशित नगरेको र निर्माण कार्यमा काम नै नगरी झुट्टा प्राविधिक बिल, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिएको आरोप उनीहरूमाथि लगाइएको छ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी र लेखापाल रायविरुद्ध २६ लाख ६४ हजार ६२४ रुपैयाँ बिगो मागदाबी गरिएको छ। यस्तै, खरिदार यादव, सि.अ.हे.व. साह र शिक्षा शाखा प्रमुख साहुविरुद्ध २४ लाख १५ हजार १२० रुपैयाँ बिगो मागदाबी गरिएको आयोगले जनाएको छ।
यस्तै, अमृत मिडिया प्राइभेट लिमिटेड तथा उक्त कम्पनीका सञ्चालक राजेन्द्र यादव, जनकपुर टुडे मिडिया ग्रुप प्रालि तथा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक वृद्धकुमार यादव, साइन कन्ट्रक्सन धनुषा तथा उक्त कम्पनीका सञ्चालक विकासप्रसाद यादव, एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रालि, काठमाडौं–३१ भिमसेनगोलाका सञ्चालक रामनारायण साह र असिस्टेन्ट सब–इन्जिनियर शुभाषकुमार महराविरुद्ध जनही २४ लाख १५ हजार १२० रुपैयाँ बिगो मागदाबी गरिएको आरोपपत्रमा उल्लेख छ।










