धर्मेन्द्र कुमार कुर्मी, कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका-४ शंकरपुर-देउपुरामा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा नयाँ चारकोठे भवनको शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा अध्यक्ष तिलकराम कँडेल र प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।
पूर्वसांसद स्वर्गीय मंगलप्रसाद गुप्ताको पहलमा विनियोजित बजेटबाट निर्माण हुन लागेको भवनको लागत करिब १ करोड रुपैयाँ रहेको छ। भवन निर्माणको ठेक्का ब्रेभ कन्स्ट्रक्सन कम्पनीले पाएको जनाइएको छ।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षालाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए। नयाँ भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययनका लागि थप सहज, सुरक्षित र व्यवस्थित वातावरण निर्माण हुने उनको भनाइ थियो।
उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विद्यालयको आवश्यकता तथा विद्यार्थीको चापलाई ध्यानमा राखेर निर्माण हुन लागेको भवनले शिक्षण–सिकाइमा सकारात्मक प्रभाव पार्ने बताइन्। उनले भवन निर्माणको काम गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरिन्।
प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले निर्माणका क्रममा तोकिएको मापदण्ड र गुणस्तर कायम गर्नुपर्नेमा जोड दिए। विद्यालयको भौतिक पूर्वाधार विकासले शिक्षाको गुणस्तर सुधारमा समेत सहयोग पुग्ने उनले बताए।
वडा अध्यक्ष तिलकराम कँडेलले नयाँ भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरणमा सुधार आउनुका साथै विद्यार्थीलाई पठनपाठनमा सहज हुने बताए। विद्यालयको समग्र विकासका लागि वडा तहबाट आवश्यक सहयोग निरन्तर रहने उनले प्रतिबद्धता जनाए।
विद्यालयका प्रधानाध्यापक पम्फा कुमारी पाण्डेले नयाँ भवन निर्माणसँगै विद्यालयको लामो समयदेखिको कक्षाकोठा अभावको समस्या समाधान हुने बताइन्। भवन निर्माणका लागि पहल तथा बजेट व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै उनले नयाँ भवन बनेपछि विद्यार्थीलाई थप व्यवस्थित वातावरणमा पठनपाठन गराउन सहज हुने बताइन्।
शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य टंकबहादुर विश्वकर्मा, मिना सुनार, शिक्षा शाखा प्रमुख शिवकुमार चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार चाई, पूर्वअध्यक्ष खिम खत्रीलगायत विद्यालयका पदाधिकारी, अभिभावक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।