बर्दिबास। सुनसरीबाट सुरु भएको धार्मिक तनाव मधेशका विभिन्न जिल्लामा फैलिरहेका बेला महोत्तरीको बर्दिबासले धार्मिक सद्भाव, सामाजिक एकता र सहअस्तित्वको सशक्त सन्देश दिएको छ।
बर्दिबास उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार सम्पन्न सर्वपक्षीय सद्भाव बैठकमा हिन्दु र मुस्लिम समुदायका अगुवा, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि एकै ठाउँमा भेला भएका थिए। सहभागीहरूले एकसाथ चिया पिए, हातेमालो गरे र ‘हिन्दु–मुस्लिम हामी दाजुभाइ’ भन्ने सन्देश दिँदै सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाए।
‘हाम्रो विविधता, हाम्रो पहिचान, हाम्रो एकता, हाम्रो अभियान’ भन्ने नारासहित आयोजित कार्यक्रममा नेपालका सबै धर्म, भाषा र समुदायबीच आपसी विश्वास, सहिष्णुता र सहअस्तित्वलाई अझ बलियो बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।
बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले धार्मिक सद्भाव बिथोल्ने र समाजमा उत्तेजना फैलाउने जो–कोहीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्दै सामाजिक सञ्जालमा लोकप्रिय बन्न गरिने स्टन्टबाजीले समाजमा अनावश्यक तनाव सिर्जना गरिरहेको बताए।
मुस्लिम समाज बर्दिबासका अध्यक्ष अताबुल रहमानले मानवता सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै वर्षौंदेखि मिलेर बसेका समुदायबीचको विश्वास कायम राख्न सबैले संयमता अपनाउनुपर्ने बताए।
स्थानीय अधिवक्ता नदाफले बर्दिबास धार्मिक सहिष्णुताको नमुना नगर रहेको उल्लेख गर्दै सुनसरीलगायतका घटनाका दोषीलाई कानुनी कारबाही गर्नुपर्ने बताए। उनले “सबैको रगत बराबर छ, त्यसैले हामी विभाजित हुनुहुँदैन” भन्दै भाइचारा कायम राख्न आग्रह गरे।
नेकपा नेता चुडामणि पोखरेलले पहाडी–मधेसी, हिन्दु–मुस्लिम वा जातीय विभाजनका नाममा समाजलाई विभाजित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसको प्रतिरोधमा सबै एकजुट हुनुपर्ने धारणा राखे।
नेकपा (एमाले) का नेता शंकर महतोले बर्दिबासको सामाजिक बनोट नै यसको सबैभन्दा ठूलो गहना भएको उल्लेख गर्दै समाजलाई विभाजन होइन, समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक दल र जनप्रतिनिधि लाग्नुपर्ने बताए।
कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले धर्मका नाममा बर्दिबासमा सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिको सशक्त प्रतिरोध गर्ने प्रतिबद्धता व्यक्त गरे।
इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख माधवराज न्यौपानेले नेपालको विविधता नै राष्ट्रिय एकताको आधार भएकाले त्यसको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोले साम्प्रदायिक तनाव अन्त्य गर्ने सबैभन्दा प्रभावकारी उपाय सामाजिक एकता र भाइचारा भएको उल्लेख गरे।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले बर्दिबासमा हिन्दु र मुस्लिम समुदायबीचको सम्बन्ध पारिवारिक र आत्मीय रहेको बताए। उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कार्कीले केही व्यक्तिका गतिविधिले समाजमा भ्रम फैलाउने प्रयास भइरहे पनि बर्दिबासका नागरिक सद्भाव कायम राख्न दृढ रहेको बताए।
बैठकमा सहभागीहरूले बर्दिबास–३ कालापानी घटनाप्रति पनि ध्यानाकर्षण गराउँदै स्थानीयवासी तथा जनप्रतिनिधिविरुद्ध दर्ता भएका मुद्दाले सामाजिक सद्भावमा असर पार्न सक्ने भएकाले सम्बन्धित निकायलाई संवेदनशील ढंगले अघि बढ्न आग्रह गरेका छन्।
कार्यक्रमका सहभागीहरूको साझा निष्कर्ष थियो धर्म, जात र समुदायभन्दा माथि सामाजिक सद्भाव, आपसी विश्वास र मानवता नै बर्दिबासको वास्तविक पहिचान हो।









