काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को समेत प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशभर बदली हुनुका साथै विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा ती दुई प्रदेशका अन्य भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर अधिकांश बदली रहनेछ। देशका अधिकांश स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने थोरै स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी, शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसममा देखिएको परिवर्तनका कारण वर्षा, चट्याङ, हावाहुरी र हिमपातको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











