सर्लाही । सर्लाहीको हरिवनस्थित एक सुनचाँदी पसलमा चोरी भएको गरगहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। हरिवन नगरपालिका–११ स्थित रिद्धिसिद्धि ज्वेलर्समा चोरी भएको सूचनापछि प्रहरीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत कात्तिक १२ गते बिहान करिब ४ बजे हरिवन बजारस्थित सुरज साहले सञ्चालन गरेको ज्वेलर्समा चोरी भएको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो ।
प्रहरीले हरिवन बजारस्थित कबिन कार्कीको घरमा डेरा गरी बस्ने भारत, मोतिहारी जिल्ला, आदापुर थाना, औरहिया-११ का करिब २५ वर्षीय जुनैद अंसारी र झरोखर थाना, आठमोहनी-१२ का करिब २८ वर्षीय रियाज अंसारीलाई चोरी भएका गरगहनासहित पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट सुनको पेन्डल ३५ थान, तिलहरी एक थान, औँठी चार थान, नौगेडी एक थान, मोती क्लिप एक थान, बेबी माला पाँच थान, चन्द्रमा आठ थान, कानको टप ३९ थान र सुनको खुकुरी एक थान बरामद गरेको छ ।
त्यस्तै, सुनजस्तो देखिने नक्कली हार एक थान, फलाम काट्ने कटर एक थान र एन्ड्रोइड मोबाइल एक थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि चोरीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।












