शिक्षा क्षेत्रमा विशिष्ट योगदानका लागि दीप प्रकाश रायमाझी ‘राष्ट्रिय शिक्षा सम्मान–२०८३’ बाट सम्मानित


१३ असार,काठमाडौ । शिक्षा क्षेत्रको विकास, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा सामाजिक सेवामार्फत उल्लेखनीय योगदान पुर्‍याएको भन्दै समसाइन सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल दीप प्रकाश रायमाझीलाई ‘राष्ट्रिय शिक्षा सम्मान–२०८३’ प्रदान गरिएको छ।
फोकस नेपालद्वारा काठमाडौंस्थित नेपाल प्रहरी क्लबमा आयोजित विशेष सम्मान समारोहमा रायमाझीलाई उक्त सम्मान प्रदान गरिएको हो। सम्मानपत्रमा उहाँले लामो समयदेखि वरिष्ठ शिक्षासेवी, शैक्षिक अभियन्ता तथा समाजसेवीका रूपमा इमान्दारिता, निष्ठा र समर्पणका साथ शिक्षा क्षेत्रको उन्नयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ।
सम्मानपत्रमा विभिन्न शैक्षिक संघ–संस्थाको नेतृत्व गर्दै गुणस्तरीय शिक्षा विस्तार, सक्षम जनशक्ति निर्माण, सामाजिक उत्तरदायित्व तथा राष्ट्र निर्माणमा पुर्‍याएको योगदान प्रशंसनीय र अनुकरणीय रहेको उल्लेख गरिएको छ। शिक्षा क्षेत्रको समग्र विकासमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाको उच्च मूल्याङ्कन गर्दै फोकस नेपालले उहाँलाई राष्ट्रिय शिक्षा सम्मानबाट विभूषित गरेको जनाएको छ।
समारोहका प्रमुख अतिथि पूर्व शिक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सम्मानपत्र प्रदान गर्दै शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्वहरूको सम्मानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले शिक्षाको गुणस्तर अभिवृद्धि र दक्ष नागरिक निर्माणमा निजी तथा सामुदायिक विद्यालयका शिक्षाकर्मीहरूको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले शिक्षा, सामाजिक सेवा तथा राष्ट्र निर्माणमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने संस्थाको परम्पराअनुसार यस वर्ष रायमाझीलाई राष्ट्रिय शिक्षा सम्मान प्रदान गरिएको जानकारी दिनुभयो। आगामी दिनमा पनि उहाँबाट शिक्षा क्षेत्रले अझ बढी योगदान प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गर्नुभयो।
दीप प्रकाश रायमाझीलाई प्रदान गरिएको ‘राष्ट्रिय शिक्षा सम्मान–२०८३’ ले उहाँको दीर्घकालीन शैक्षिक योगदानको राष्ट्रिय स्तरमा भएको सम्मान र कदरको रूपमा लिइएको छ। शिक्षा क्षेत्रका सरोकारवालाले समेत यस सम्मानलाई समर्पित शिक्षाकर्मीप्रतिको सम्मान र प्रेरणाको रूपमा व्याख्या गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको