४ असार,काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा नागरिकको सुरक्षा सुनिश्चित गर्न सबै स्रोत–साधन परिचालन गरिने बताए।
उनका अनुसार उद्धार कार्यका लागि हेलिकप्टरदेखि सुरक्षा निकायसम्मका सबै संयन्त्र सक्रिय रूपमा परिचालन गरिनेछ। उनले औपचारिक निरीक्षणभन्दा पनि प्रत्यक्ष उद्धार र नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिने उल्लेख गरे।
गृहमन्त्री गुरुङले सम्भावित संकटको अवस्थामा छिटो र प्रभावकारी रूपमा काम गर्न सकिने गरी विशेष संयन्त्र निर्माण गरिएको जानकारी दिए। उनले अघिल्ला सरकारका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिइएको पनि बताए।
मनसुनका बेला पूर्व–पश्चिम राजमार्ग लगायत निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उनले जानकारी दिए।
उनका अनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरण कहाँ–कहाँ उपलब्ध छन् भन्ने पहिचान गर्न विशेष डिजिटल प्रणाली ९एप० विकास गरिएको छ। उक्त प्रणालीमार्फत कुनै स्थानमा पहिरो वा सडक अवरोध भएमा नजिकको उपकरण तत्काल परिचालन गरेर सडक खुलाउने व्यवस्था मिलाइएको उनले बताए।
गृहमन्त्री गुरुङले विगतका विपद् अनुभवका आधारमा यसपटक अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदै नागरिकको ज्यान बचाउन सबै निकाय परिचालन गरिने स्पष्ट पारे।
उनले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा दिन निर्देशन दिएको पनि जानकारी दिए।



















