बडहरी खोलामा ग्राभेल उत्खननविरुद्ध स्थानीय आन्दोलित


ढल्केबर। धनुषाको मिथिला नगरपालिका-९ स्थित बडहरी खोलाबाट भइरहेको ग्राभेल उत्खनन रोक्न स्थानीयवासी आन्दोलित भएका छन्।

बिहीबार स्थानीयले उत्खनन तत्काल बन्द गर्न माग गर्दै ढल्केबरस्थित मिथिला नगरपालिकाको कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा केही समय पूर्व-पश्चिम राजमार्गसमेत अवरुद्ध भएको थियो।

आन्दोलनरत स्थानीय नागेन्द्र महतोले खोलाबाट जथाभावी ग्राभेल उत्खनन हुँदा नदी आसपासका खेतीयोग्य जमिन भासिने जोखिम बढेको बताए। साथै, उत्खननपछि खोलामा ठूला खाडल बनाएर छोडिँदा बालबालिका डुब्ने जोखिमसमेत बढेको उनको भनाइ छ।

महतोले ग्राभेल उत्खननका कारण वातावरणीय तथा मानवीय जोखिम बढेकाले स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएको बताए। उनले ठेक्का सम्झौता रद्द गरेर भए पनि उत्खनन कार्य तत्काल रोक्नुपर्ने माग गरे। “अब बडहरी खोलाबाट एउटा ट्याक्टरलाई पनि ग्राभेल लैजान दिँदैनौँ,” उनले चेतावनी दिए।

स्थानीयले माग पूरा नभएसम्म आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

मिथिला नगरपालिकाले नगर क्षेत्रभित्रका बडहरी, बसही, औरही, जलाधार र रातु खोलाबाट ग्राभेल उत्खननका लागि काठमाडौंस्थित नेरिसा कन्ट्रक्सन कम्पनी प्रालिलाई तीन करोड पाँच लाख ६२ हजार २७३ रुपैयाँमा ठेक्का दिएको जनाएको छ।

यता, स्थानीयको विरोधपछि मिथिला नगरपालिकाका प्रवक्ता रामबहादुर स्याङ्दनले स्थानीयको माग सम्बोधन गरिने बताउँदै आवश्यक प्रक्रिया पूरा गरेर ठेक्का रद्द गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको