मधेसमा एचआईभी संक्रमण दर राष्ट्रिय औसतभन्दा बढी


जनकपुरधाम। देशभरको तुलनामा मधेस प्रदेशमा एचआईभी संक्रमितको दर सबैभन्दा बढी रहेको पाइएको छ। मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा प्रदेशमा एचआईभी संक्रमण पुष्टिको औसत दर ०.६ प्रतिशत रहेको छ, जबकि राष्ट्रिय औसत ०.५ प्रतिशत मात्रै छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी राजवीर यादवका अनुसार राष्ट्रिय औसतभन्दा मधेस प्रदेशमा संक्रमण दर बढी देखिनु गम्भीर चिन्ताको विषय बनेको छ।

निर्देशनालयका अनुसार मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सामा एचआईभी/एड्स संक्रमितको संख्या सबैभन्दा बढी रहेको छ। पर्सामा एक हजार ५०४ जना संक्रमित रहेका छन् भने प्रदेशभर चार हजार ६८० जना एआरटी उपचारमा रहेका छन्।

जिल्लागत विवरणअनुसार धनुषामा ८८६, सर्लाहीमा ५५८, सिरहामा ४५७, रौतहटमा ४२२, महोत्तरीमा ३७१, बारामा २८८ तथा सप्तरीमा १९४ जना संक्रमित रहेका छन्।

एचआईभी/एड्स फोकल पर्सन यादवका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १४ हजार जनामा गरिएको परीक्षण बढेर आर्थिक वर्ष २०८१/८२ मा ७६ हजार ७९२ पुगेको छ। चालु आर्थिक वर्षमा मात्रै १६ जना गर्भवती महिलामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

प्रदेशमा हाल १८ वर्षमुनिका १७५ बालबालिका एचआईभी संक्रमित रहेका छन्। तीमध्ये २० जना पूर्ण अनाथ रहेको निर्देशनालयले जनाएको छ।

स्वास्थ्य अधिकारीहरूले भारतसँगको खुला सीमा, वैदेशिक रोजगारी, लागुऔषध प्रयोग तथा असुरक्षित यौन सम्पर्कलाई संक्रमण फैलिनुको मुख्य कारण मानेका छन्। साथै सुरक्षित यौन व्यवहारबारे चेतनाको अभाव, परीक्षणप्रति डर तथा सामाजिक विभेदका कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

स्वास्थ्यकर्मीहरूका अनुसार अझै पनि धेरै मानिस एचआईभी परीक्षण गराउन हिचकिचाउने तथा संक्रमण पुष्टि भएपछि पनि नियमित उपचारमा नआउने समस्या कायम छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको