विराटनगरको ग्रिनक्रस हस्पिटलमा मृतकको कानबाट सुन गायब, प्रहरीले सुरु गर्‍यो अनुसन्धान


विराटनगर। विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कानबाट सुनको मुन्द्रा गायब भएको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

उदयपुरको त्रियुगा नगरपालिका-७ निवासी ४० वर्षीया सबिना दनुवारलाई विष सेवनपछि उपचारका लागि जेठ १ गते विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटलमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको थियो।

परिवारका अनुसार उपचार भइरहेका बेला मृतक दनुवारको दुवै कानमा सुनका मुन्द्रा थिए। तर मृत्यु भएलगत्तै कानमा रहेको करिब एक तोला सुनको मुन्द्रा अचानक गायब भएको पाइएको हो।

आफन्तले सुन हराएको विषयमा प्रश्न उठाएपछि सुरुमा अस्पताल प्रशासनले घटनालाई स्वीकार गर्न नमानेको बताइएको छ। पछि उपचारका क्रममा खिचिएको भिडियोमा मृतकको कानमा सुन देखिएको प्रमाण प्रस्तुत गरेपछि अस्पतालमा खैलाबैला मच्चिएको परिवारको भनाइ छ।

मृतक परिवारका एक सदस्यका अनुसार अस्पताल प्रशासनले सीसी क्यामेरा फुटेज जाँच गरेपछि सुन हराएको पुष्टि भएको थियो। परिवारले बिरामीको मृत्यु घोषणा गर्नुअघि पर्दा लगाएर ईसीजी परीक्षण गर्ने क्रममा सुन चोरी भएको आशंका व्यक्त गरेको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी अस्पताल पुगेको थियो। त्यसपछि अस्पताल प्रशासनले हराएको सुनको क्षतिपूर्ति दिन सहमति जनाएको बताइएको छ। अस्पतालले आन्तरिक छानबिन गर्ने भन्दै मृतकका परिवारलाई एक तोला सुन बराबरको चेक उपलब्ध गराएको स्रोतले जनाएको छ।

यता, अस्पताल सञ्चालक कृष्ण खवासले भने घटनाबारे स्पष्ट प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। उनले मृतकको शव पोस्टमार्टमका लागि प्रहरीलाई बुझाइएको जानकारी दिँदै आफू बाहिर रहेको कारण थप बोल्न नमानेका हुन्।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले शवबाट सुन हराएको विषयमा सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको