बर्दिबास उद्योग वाणिज्य संघको ‘सिन्डिकेट’ विरुद्ध चेम्बरको विद्रोह: बजार बन्द गर्ने निर्णय नमान्ने घोषणा


२९ बैशाख, बर्दिबास। बर्दिबास उद्योग वाणिज्य संघले व्यवसायीहरूको हकहित विपरित एकलौटी रूपमा लाद्न खोजेको ‘बजार बन्द’ गर्ने निर्णयलाई महोत्तरी चेम्बर अफ कमर्सले कडा चुनौती दिँदै खारेज गरिदिएको छ। बर्दिबास नगरपालिका क्षेत्रभित्र प्रत्येक महिनाको दोस्रो र अन्तिम मंगलबार बजार बन्द गर्ने संघको अव्यवहारिक निर्णयलाई चेम्बरले ठाडै अस्वीकार गरेको हो।

महोत्तरी चेम्बर अफ कमर्सको २०८३ वैशाख २९ गते बसेको कार्यसमिति बैठकले संघको उक्त निर्णयलाई “संविधान विपरितको मनोमानी” ठहर गरेको छ। चेम्बरका महासचिव जेसफ सिंहद्वारा जारी विज्ञप्तिमा कुनै पनि संघ-संस्थाले व्यवसायीलाई धम्की वा दबाब दिएर पसल बन्द गराउनु गैरकानुनी भएको उल्लेख छ।

विज्ञप्तिमा नेपालको संविधानको धारा १७ को हवाला दिँदै भनिएको छ कि – “कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका व्यवसायलाई कसैको दबाब वा जबरजस्तीमा बन्द गराउन पाइँदैन।” चेम्बरले बजार बन्द गराउने अधिकार केवल नेपाल सरकार र प्रशासनिक निकायसँग मात्र सुरक्षित रहेको स्मरण गराउँदै, उद्योग वाणिज्य संघले आफ्नो अधिकार क्षेत्र नाघेर व्यवसायीहरूमाथि शासन गर्न खोजेको आरोप लगाएको छ।

जिल्लास्तरको आधिकारिक व्यवसायिक संस्थाको हैसियतले चेम्बरले स्पष्ट पारेको छ कि आगामी दिनमा यस्ता कुनै पनि निर्णय गर्दा चेम्बरसँगको समन्वय बिना अगाडि बढ्न पाइने छैन। साथै, उद्योग वाणिज्य संघको भ्रमपूर्ण र दबाबमूलक निर्णयबाट विचलित नभई निर्धक्कका साथ आफ्नो व्यवसाय नियमित सञ्चालन गर्न चेम्बरले सम्पूर्ण व्यवसायीहरूलाई आह्वान गरेको छ। यसले बर्दिबासका व्यवसायीहरूमाझ संघको स्वेच्छाचारी प्रवृत्तिको अन्त्य हुने र स्वतन्त्र व्यवसायको वातावरण बन्ने विश्वास लिइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको