जनकपुरधाम, वैशाख १३ — महोत्तरीको बर्दिबास नगरपालिका मा पत्रकार अजयकुमार साह माथि भएको दुर्व्यवहार र ज्यान मार्ने धम्कीको घटनाले सञ्चार क्षेत्रलाई आक्रोशित बनाएको छ।
घटनापछि नेपाल पत्रकार महासंघ का मधेस प्रदेश समिति, महोत्तरी र धनुषा शाखासहित विभिन्न पत्रकार संगठनहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै कडा निन्दा गरेका छन्। उनीहरूले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्।
त्यसैगरी बर्दिबास नगर पत्रकार संजाल, मिथिला नगर पत्रकार संजाल लगायतका संघ–संस्थाले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै भर्त्सना गरेका छन्।
प्राप्त जानकारीअनुसार बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाल (शंकर) ले समाचारको विषयलाई लिएर सार्वजनिक स्थलमै पत्रकार साहमाथि गालीगलौज, दुर्व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की दिएका थिए।
पत्रकार अजयकुमार साह ले रातोपाटी डटकम मा वैशाख १० गते “बर्दिबास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको विवाद छताछुल्ल” शीर्षकमा समाचार प्रकाशन गरेका थिए। सोही समाचारप्रति असन्तुष्टि जनाउँदै फुयालले आक्रामक व्यवहार देखाएको जनाइएको छ।
महासंघ महोत्तरी शाखाले “समाचारप्रति असहमति भए कानुनी बाटो अपनाउन सकिन्छ, तर पत्रकारमाथि आक्रमण गर्नु पूर्णतः अस्वीकार्य” भएको स्पष्ट पारेको छ। धनुषा शाखाले पनि प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै यस्ता धम्की र दुर्व्यवहारलाई असह्य कार्य भनेको छ।
पत्रकार संगठनहरूले घटनामा संलग्न व्यक्तिलाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर्न, पीडित पत्रकारको सुरक्षा सुनिश्चित गर्न तथा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी संयन्त्र निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यस घटनाले फेरि एकपटक नेपालमा पत्रकार सुरक्षाको अवस्था र प्रेस स्वतन्त्रताको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। सञ्चार क्षेत्रले चेतावनी दिएको छ—
“पत्रकारमाथिको आक्रमण सह्य हुँदैन, दोषीलाई उन्मुक्ति दिइए कडा आन्दोलन हुन्छ।”









