पर्सा। जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान २८ वर्षीय विकास चौरसियाको पर्सामा हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका-९ मुर्लीस्थित एक घरमा आइतबार साँझ करिब ५ बजे चौरसिया गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनलाई उद्धार गरी नारायणी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार चौरसियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ।
सूचना अधिकारी हरिबहादुर बस्नेत का अनुसार घटनामा संलग्न रहेको आरोपमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी श्रीमती २४ वर्षीया सोनी साह, बारा जिल्लाका १९ वर्षीय विशाल साह र भारतीय नागरिक २० वर्षीय कन्हैया कुमारलाई पक्राउ गरिएको छ।
पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका विवरणहरू अहिले सार्वजनिक नगरिएको बताइएको छ।
प्रहरी जवान चौरसिया १० दिनको बिदामा पर्सा आएका थिए। उनको घर पर्साको कालिकामाई गाउँपालिका-१ मा रहेको छ।









