सिन्धुली। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत सिन्धुलीको भिमान क्षेत्रमा गरिएको विशेष चेकजाँचका क्रममा एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शनिबार अपराह्न करिब ३:३५ बजे इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक राजु के.सी. खत्रीको कमाण्डमा खटिएको टोलीले चेकपोस्टमा सवारी साधनहरूको कडाइका साथ जाँच गरेको थियो। उक्त टोलीमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास तथा प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट परिचालित तालिमप्राप्त ‘जुनु’ नामक ड्रग ट्रयाकर कुकुरसहित १५ सदस्यीय प्रहरी सहभागी थिए।
सो क्रममा काकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९६६० नम्बरको हायस गाडीमा सवार यात्रुको जाँच गर्ने क्रममा झापा मेचीनगर नगरपालिका-२ का अन्दाजी २४ वर्षीय निकास आलेमाथि शंका लागेपछि सूक्ष्म जाँच गरिएको थियो।
जाँचका क्रममा उनले लगाएको जिन्स ज्याकेटको दाहिने खल्तीभित्र लुकाइ राखिएको सेतो प्लास्टिकको प्याकेट फेला परेको प्रहरीले जनाएको छ। उक्त प्याकेटभित्र खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ ३३ ग्राम ८७० मिलिग्राम (प्लास्टिक बाहेक) बरामद गरिएको हो।
बरामद पदार्थ रितपूर्वक मुचुल्का तयार गरी नियन्त्रणमा लिइएको छ भने अभियुक्तलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक बिमल खतिवडाका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राख्दै चेकजाँच कडाइ गरेको र यस्ता गतिविधिविरुद्ध निगरानी अझ सशक्त बनाइने जनाएको छ।



















