महोत्तरी। महोत्तरीमा अवैध बालुवा तथा माटो उत्खननमा संलग्न एक जेसीबी र तीन ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मिति २०८२ चैत २० गते बिहान करिब १०:१५ बजे महोत्तरी गाउँपालिका-५ हरिगोरगामास्थित मडै सडक खण्ड नजिक रातु खोलाको डिलबाट अवैध उत्खनन भइरहेको सूचनाका आधारमा अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा ज १ क ६७० नम्बरको जेसीबी एक थान, नम्बर नखुलेको एक ट्याक्टर तथा अवैध रूपमा बालुवा/माटो बोकी लगिरहेको अवस्थामा थप दुई ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको छ।










