महोत्तरी। गौशाला नगर युवा सञ्जाल ले बजार क्षेत्रको व्यवस्थापन तथा सरसफाइ सुधार गर्न सम्बन्धित निकायलाई एक हप्ते अल्टिमेटम दिएको छ।
सञ्जालका अध्यक्ष भरत महतो कोईरी को नेतृत्वमा करिब २० जना युवाको टोलीले मंगलबार गौशाला नगरपालिका, इलाका प्रशासन कार्यालय गौशाला, वडा नं. ५ कार्यालय, इलाका प्रहरी कार्यालय गौशाला, ट्राफिक प्रहरी कार्यालय, गौशाला उद्योग वाणिज्य संघ तथा नगर प्रमुखसमक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन्।
पत्रमा गौशाला बजार लाई जिल्लाकै महत्वपूर्ण तथा ऐतिहासिक व्यापारिक केन्द्रका रूपमा उल्लेख गर्दै यसको व्यवस्थापन कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ।
सञ्जालका अनुसार जथाभावी फोहोर फाल्ने, नाला तथा ढल अवरुद्ध हुने, सडक अतिक्रमण तथा अव्यवस्थित पार्किङका कारण बजार क्षेत्र अस्तव्यस्त बन्दै गएको छ। यसले सर्वसाधारणको स्वास्थ्य र वातावरणमा नकारात्मक असर परेको उल्लेख गरिएको छ।
समयमै सुधारका कदम नचालिए थप आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत सञ्जालले दिएको छ।











