मधेश प्रदेशकै एक उत्कृष्ट शैक्षिक संस्था, सिरहाको मिर्चैया नगरपालिका–६ मा अवस्थित स्वस्तिक पाठशालाका प्रधानाध्यापक लक्ष्मण गिरीसँग सञ्चारकर्मी जीवनराज दाहालले गर्नुभएको संवादमा आधारित प्रस्तुत सामग्री:

प्रश्न: सर, नमस्कार। यस शृङ्खलामा यहाँलाई हार्दिक स्वागत छ।
उत्तर: नमस्कार। यहाँले प्रदान गर्नुभएको अवसरका लागि धन्यवाद। मेरो बुझाइमा शिक्षा केवल पुस्तकमा सीमित ज्ञान होइन, बरु जीवनलाई सही दिशा दिने मार्गदर्शन हो। त्यसैले यस्ता संवादमार्फत विद्यालयका उद्देश्य, सोच र दृष्टिकोण समाजसँग साझा गर्न पाउनु मेरो लागि अत्यन्त खुशीको विषय हो।
प्रश्न: तपाईं एउटा प्रगतिशील विद्यालयको नेतृत्व गरिरहनुभएको छ। आफ्नो पेशाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ?
उत्तर: मेरो लागि शिक्षा ; पेशा मात्र होइन, सेवा र उत्तरदायित्व हो। जब कुनै विद्यार्थीले सानो सफलता हासिल गर्छ, आत्मविश्वास बढाउँछ वा जीवनमा सही बाटो समाउँछ, त्यही क्षण मेरो लागि सबैभन्दा ठूलो सन्तुष्टि हो। शिक्षक र विद्यालयको भूमिका बीउ रोप्ने जस्तै हो – फल तुरुन्त नदेखिए पनि भविष्यमा त्यसले समाजलाई हरियाली बनाउँछ।
प्रश्न: अब मुख्य विषयमा जाऔं – किन विद्यार्थीहरूले स्वस्तिक पाठशाला रोज्नुपर्छ?
उत्तर: हाम्रो उद्देश्य केवल राम्रो नतिजा ल्याउनु मात्र होइन, असल मानिस निर्माण गर्नु हो। स्वस्तिक पाठशालामा हामी तीन कुरामा विशेष ध्यान दिन्छौं-गुणस्तरीय शिक्षण पद्धति, अनुशासन र चरित्र निर्माण, तथा सिर्जनशील र व्यवहारिक शिक्षा। यहाँ विद्यार्थीहरू परीक्षा पास गर्ने मात्र होइन, संवेदनशील, जिम्मेवार र सक्षम नागरिक बन्ने अभ्यास गर्छन्।
प्रश्न: नयाँ शैक्षिक सत्रका लागि तपाईंका प्रमुख योजना के-के छन्?
उत्तर: आगामी सत्रलाई अझ प्रभावकारी बनाउन हामीले केही महत्वपूर्ण पहलहरू अघि सारेका छौं। सीपमूलक शिक्षा र प्रयोगात्मक सिकाइलाई प्राथमिकतामा राखिनेछ। साथै, प्रोजेक्ट आधारित सिकाइ र पठन संस्कृतिको विकासमा विशेष जोड दिइनेछ। आधुनिक शिक्षण विधिअनुसार AI Integrated तथा Blended Education को प्रयोग गरिनेछ। साथै विद्यार्थीको व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धि गर्न विविध कार्यक्रमहरू सञ्चालन गरिनेछन्। हाम्रो लक्ष्य विद्यार्थीलाई भविष्यका लागि सक्षम र तयार बनाउनु हो।
प्रश्न: नेतृत्व गर्दा कुर्सीमा बस्नु र बाहिर गएर अनुगमन गर्नु – यी दुई अनुभव कस्ता हुन्छन्?
उत्तर: नेतृत्व केवल कुर्सीमा सीमित हुँदैन। वास्तविक नेतृत्व त मैदानमा रहेर काम गर्दा देखिन्छ। कक्षाकोठा, खेलमैदान, पुस्तकालय वा विद्यार्थीका गतिविधिहरू प्रत्यक्ष अवलोकन गर्दा वास्तविक सिकाइको अवस्था बुझ्न सकिन्छ। त्यसैले म आफूलाई केवल प्राचार्य होइन, एक सक्रिय शिक्षकका रूपमा हेर्न रुचाउँछु।
प्रश्न: अहिलेको अवस्थामा विद्यालयको समग्र वातावरण कसरी रूपान्तरण गर्दै हुनुहुन्छ?
उत्तर: विद्यालयको वातावरण सुधार्ने मूल आधार तीनवटा हुन् – सकारात्मकता, सहभागिता र अनुशासन। शिक्षक प्रेरित भए विद्यार्थी स्वतः प्रेरित हुन्छन्। त्यसैले हामी शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य बढाउँदै सकारात्मक, सहयोगात्मक र सिर्जनशील वातावरण निर्माण गर्न प्रतिबद्ध छौं।
प्रश्न: सहकर्मीहरूको सहयोग कस्तो पाइरहनुभएको छ?
उत्तर: विद्यालय कुनै एक व्यक्तिको प्रयासले मात्र चल्दैन, यो सामूहिक प्रयासको परिणाम हो। सहकर्मी शिक्षकहरूको साथ, व्यवस्थापनको विश्वास र अभिभावकहरूको सहयोगले नै विद्यालय अगाडि बढ्छ। म सधैं भन्छु – एकल प्रतिभाले सफलता दिलाउन सक्छ, तर टिमवर्कले इतिहास रच्दछ।
प्रश्न: पाठक तथा अभिभावकहरूका लागि तपाईंको सन्देश के छ ?
उत्तर: स्वस्तिक पाठशालामा हामी विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञान मात्र होइन, चरित्र, सीप र आत्मविश्वाससमेत प्रदान गर्न प्रतिबद्ध छौं। नयाँ शैक्षिक सत्रका अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दछौं।









